काठमाडौँ, माघ १८ — सल्लेरी–च्याल्सा विद्युत् कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा दावागेलु पाख्रिन (राजु) चयन भएका छन्। आज काठमाडौँमा सम्पन्न अधिवेशनले पाख्रिनको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
कम्पनीका अनुसार नव–निर्वाचित सञ्चालक समितिको कार्यकाल चार वर्षको रहनेछ। समितिका सदस्यहरूमा नुरू लामा, देण्डी शेर्पा, नारायणकाजी श्रेष्ठ, कुलनारायण श्रेष्ठ र टंकीमाया बस्नेत चयन भएका छन्।
यसअघि कम्पनीको अध्यक्ष पदमा डा. मिङमार ग्याल्जेन शेर्पा रहेका थिए। अधिवेशनले शेर्पाको कार्यकालको समीक्षा गर्दै कम्पनीको संस्थागत विकास तथा स्थानीय ऊर्जा आपूर्तिमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेको छ।
सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी क्षेत्रमा सञ्चालनमा रहेको सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले स्थानीय स्तरमा विद्युत् आपूर्तिको महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको छ। कम्पनीले उत्पादन, वितरण तथा सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको जनाएको छ।
नव–निर्वाचित अध्यक्ष पाख्रिनले कम्पनीको दिगो सञ्चालन, सेवा सुधार र स्थानीय उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, बोर्ड सदस्यहरूले सामूहिक नेतृत्वमार्फत कम्पनीलाई अझ सक्षम, पारदर्शी र उत्तरदायी बनाउँदै लैजाने बताएका छन्।
हाल कम्पनीले सल्लेरी सदरमुकामसहित आसपासका क्षेत्रका दुई हजार दुई सयभन्दा बढी घरधुरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ।