बैतडीमा जन्ती बोकेको बस दुर्घटना : मृतक संख्या १३ पुग्यो, ३६ घाइते

theoutsidenepal.com

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : मृतक संख्या १३ पुग्यो, ३६ घाइते


बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ। भौनीबाट जन्ती लिएर फर्किने क्रममा बिहीबार साँझ सोही वडाको बढ्गाउँ मोडमा सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।


दुर्घटनामा घटनास्थलमै ६ जना र उपचारका क्रममा थप २ जनाको मृत्यु भएको थियो। पछि डडेलधुरा अस्पतालमा उपचाररत थप ५ जनाको मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का बिसनदत्त जोशी, २८ वर्षीय दीपक दत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी–७ का १४ वर्षीय सुशील जोशी र केदारस्यू गाउँपालिकाका २६ वर्षीय केशबराज भट्ट रहेका छन्।


यसअघि मृत्यु हुनेमा बित्थडचीर–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र पुर्चौडी–७ की ४० वर्षीया पुस्पा अवस्थी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक कुमार रायले जानकारी दिए।


दुर्घटनामा घाइते भएका ३६ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। साथै, बसमा सवार एक बालक बेपत्ता भएको आफन्तहरूले जानकारी दिएका छन् भने उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।


दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया