महामन्त्रीमा पराजित भए पनि डा. सुनिल शर्माको संकल्प कायमै, कांग्रेस रूपान्तरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता

theoutsidenepal.com

महामन्त्रीमा पराजित भए पनि डा. सुनिल शर्माको संकल्प कायमै, कांग्रेस रूपान्तरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता

द टन न्युज । विशेष रिपोर्ट

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं व्यवसायी डा. सुनिल कुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदको निर्वाचनमा प्रतिस्पर्धा गरेपछि आफ्नो राजनीतिक संकल्प र जनसेवाप्रतिको प्रतिबद्धता अझ सशक्त बनेको बताएका छन्। निर्वाचनको परिणामले पार्टीलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने आफ्नो अभियान कमजोर नबनाएको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि पार्टी र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै डा. शर्माले लोकतान्त्रिक प्रक्रियामा जित र हार स्वाभाविक भएको उल्लेख गरेका छन्। उनले पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको विकासका लागि आफ्नो प्रयास निरन्तर जारी रहने बताएका हुन्।

आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने आकांक्षामा मात्र सीमित नभई नेपाली कांग्रेसलाई थप जनमुखी र परिणाममुखी बनाउने संकल्पको अभिव्यक्ति भएको उनको भनाइ छ। महान् नेता बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउनु आफ्नो प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारेका छन्।

महामन्त्री पदको निर्वाचनमा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने देश–विदेशबाट आएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति डा. शर्माले हृदयदेखि नै आभार व्यक्त गरेका छन्। निर्वाचन अभियानमा अहोरात्र खटिने अग्रज, साथी, सहयात्री र शुभेच्छुकहरूको योगदानको प्रशंसा गर्दै उनीहरूबाट प्राप्त माया, विश्वास र साथलाई आफ्नो अमूल्य सम्पत्ति भएको बताएका छन्।

‘निर्वाचनको परिणामले राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्प कमजोर बनाएको छैन’ भन्ने सन्देश दिँदै डा. शर्माले पदमा रहेर वा नरहेर पनि पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्। महाधिवेशन प्रतिनिधिहरूले सद्भाव र मतमार्फत दिएको साथले आफूलाई अझ सशक्त रूपमा काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ।

उनले आफ्नो पक्षमा उभिएका प्रतिनिधिहरूको प्रत्येक मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै प्रतिस्पर्धामा सहभागी सबै नेता, निर्वाचित पदाधिकारी, लोकतान्त्रिक प्रक्रियालाई जीवन्त राख्न भूमिका खेल्ने नेतागण तथा पार्टी संगठनमा निरन्तर खटिने कार्यकर्ताहरूसँग आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसभित्र सकारात्मक परिवर्तन, संगठनात्मक सुदृढीकरण र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापना अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै डा. शर्माले पार्टी र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्ने सन्देश दिएका छन्।

निर्वाचनमा प्राप्त मतलाई राजनीतिक यात्राको अन्तिम परिणाम नभई आगामी जिम्मेवारीका लागि प्रेरणाका रूपमा लिएका डा. शर्माको सन्देशले पार्टीभित्र निरन्तर सक्रियता, संगठन निर्माण र जनसेवामा जोड दिएको छ।

जय नेपाल !


प्रतिक्रिया