आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा पेश, दर्ता प्रक्रियामै अलमल
द टन न्युज । काठमाडौं ।
प्रहरी महानिरीक्षक (आईजीपी) पदको जिम्मेवारीबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन्।
कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी रहेको दाबीसहित वारेशमार्फत सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्।
तर, रिट निवेदन पेश भएको भए पनि हालसम्म दर्ता भने हुन सकेको छैन। कार्कीका कानुन व्यवसायी टिकाबहादुर कुँवरका अनुसार बिहीबार बिहान साढे १० बजे नै रिट निवेदन सर्वोच्च अदालतमा पेश गरिएको हो।
कुँवरले जनआस्थासँग कुरा गर्दै रिट निवेदन अध्ययनको क्रममा रहेको र बेलुकासम्म दर्ता हुने अपेक्षा गरिएको बताएका छन्।
यसअघि बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपी पदको जिम्मेवारीबाट हटाउँदै एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। नवनियुक्त आईजीपी केसीले बुधबार नै पदभार ग्रहण गरिसकेका छन्।
सरकारको निर्णयपछि कार्कीले कानुनी उपचारको बाटो रोजेसँगै प्रहरी नेतृत्व परिवर्तनको विषय अब न्यायिक परीक्षणतर्फ अघि बढेको छ।
अब सर्वोच्च अदालतले रिट दर्ता गर्छ कि गर्दैन र सरकारको निर्णयमाथि कस्तो कानुनी व्याख्या गर्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।
— द टन न्युज
Accuracy, Balance and Credibility