चितवन–३ को राजनीतिक माहोल यतिबेला निकै तातिएको छ। पछिल्लो चुनावी गतिविधि, जनभेटघाट तथा स्थानीयस्तरको प्रतिक्रियालाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोविता गौतम को पक्षमा जनलहर बढ्दो देखिएको विश्लेषण हुन थालेको छ। विभिन्न टोल–टोलमा भइरहेको भेटघाट, युवावर्गको सक्रियता र सामाजिक सञ्जालमा देखिएको समर्थनले गौतमको पल्ला भारी बन्दै गएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
स्थानीय कार्यकर्ताहरूका अनुसार गौतमको सशक्त प्रस्तुति, नयाँ सोच र विकासमुखी एजेन्डाले मतदातालाई आकर्षित गरिरहेको छ। विशेषगरी युवा र पहिलोपटक मतदान गर्ने मतदाताबीच उनको लोकप्रियता उल्लेखनीय रूपमा बढेको बताइन्छ। चुनावी सभाहरूमा बढ्दो सहभागिता र उत्साहजनक माहोलले पनि उनको अभियानलाई थप ऊर्जा दिएको छ।
उता नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेनु दाहाल को अवस्था भने अपेक्षाकृत कमजोर देखिएको चर्चा छ। केही स्थानीय विश्लेषकहरूले परम्परागत मतदातामा देखिएको विभाजन र संगठनभित्रको चुनौतीका कारण दाहालको अभियान अपेक्षित गति लिन नसकेको बताएका छन्।
यद्यपि अन्तिम निर्णय मतदाताको मतबाट नै हुने भएकाले चुनावी परिणाम कस्तो आउला भन्ने विषय अझै खुला नै छ। तर हालसम्मको गतिविधि र माहोललाई आधार मान्दा चितवन–३ मा सोविता गौतमको प्रभाव बलियो बन्दै गएको राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ।