एसियाली राजनीतिक मञ्चमा विनोद चौधरीको प्रभावशाली उपस्थिति, आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित
सियोल, दक्षिण कोरिया । द टन न्युज विशेष रिपोर्ट
नेपाली कांग्रेसका उपसभापति एवं उद्योगपति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औँ महासभाबाट चौधरी निर्वाचित भएका हुन्।
एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता, मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको महासभाबाट चौधरीको निर्वाचनलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा नेपालको उपस्थिति र प्रभाव विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका मन्त्री बिमल रत्नायके तथा जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक एवं सांसद माइको ताजिमालगायत एसियाका प्रभावशाली राजनीतिक व्यक्तित्वहरू रहेका छन्।
दक्षिण कोरियाको विकास मोडलबाट नेपालले सिक्नुपर्छ : चौधरी
महासभालाई नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्दै चौधरीले नेपालको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण, स्वदेशी उद्योगको विस्तार र विश्व बजारसँगको पहुँचलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
उनले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै विश्वस्तरमा पहिचान स्थापित गरेका ब्रान्ड निर्माण, निजी क्षेत्रको क्षमता अभिवृद्धि र सरकार तथा निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यले कोरियालाई आर्थिक रूपमा रूपान्तरण गरेको बताए।
निजी उद्यमलाई विस्तार र प्रतिस्पर्धाका लागि अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक नेतृत्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने उनको जोड थियो।
युवाको असन्तुष्टिलाई परिणाममुखी सुधारबाट सम्बोधन गर्नुपर्छ
चौधरीले नेपालमा पछिल्लो समय युवा पुस्ताले उठाएका भ्रष्टाचार, सुशासन, जवाफदेहिता र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
युवाको असन्तुष्टिलाई राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी ठोस सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनको धारणा थियो।
राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त नहुने उल्लेख गर्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कामबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने बताए।
उनले राजनीतिक नवीकरणसँगै युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र भविष्य निर्माणका अवसर सिर्जना गर्नु नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको स्पष्ट पारे।
लोकतन्त्र र उदार अर्थतन्त्र विकासका आधार
नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत तथा नेपालको राजनीतिक र आर्थिक विकासमा पार्टीले पुर्याएको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमजोरी र गुमेका अवसरलाई स्वीकार गरी वर्तमान नेतृत्व र सिंगो पार्टी सुधारको बाटोमा अघि बढ्न प्रतिबद्ध रहेको बताए।
खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणलाई विकासका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै उनले नेपालको भावी आर्थिक रणनीति पनि लोकतन्त्र र उदार आर्थिक नीतिमा आधारित हुनुपर्ने धारणा राखे।
भोटेकोशीको बाढीलाई विश्वकै लागि चेतावनी
सम्बोधनका क्रममा चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनको असर कुनै एक देशमा मात्र सीमित नरहने बताए। यसको जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको आग्रह थियो।
एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यम विकास, प्रविधिको जिम्मेवार प्रयोग तथा जलवायु परिवर्तनका चुनौती सम्बोधनमा सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको उनले बताए।
चौधरीले आफ्नो सम्बोधनमा भने, ‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ।’
नेपालको आर्थिक एजेन्डा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर
सन् २००० मा स्थापना भएको आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय क्षेत्रीय मञ्च हो।
यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ।
व्यवसाय, उद्यमशीलता र सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीका लागि यो जिम्मेवारी एसियाली राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अवसरसमेत हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चौधरीको आईक्याप स्ट्यान्डिङ कमिटीमा प्रवेशले नेपालको आर्थिक रूपान्तरण, लगानी, उद्यमशीलता, लोकतान्त्रिक शासन र समावेशी विकासका एजेन्डालाई अन्तर्राष्ट्रिय तहमा उठाउने नयाँ अवसर प्रदान गरेको छ।
राजनीतिक नेतृत्व, आर्थिक दृष्टिकोण र अन्तर्राष्ट्रिय व्यावसायिक अनुभवलाई एउटै मञ्चमा जोड्दै विनोद चौधरीको यो सहभागिताले नेपालको क्षेत्रीय कूटनीतिक तथा आर्थिक संवादमा कस्तो प्रभाव पार्छ भन्ने चासो अब बढेको छ।
— द टन न्युज | विशेष रिपोर्ट