कोरियाको हाई–स्पीड ट्रेनमा नेपालको पर्यटन भिडियो, सृजना एलिसाको प्रशंसा — सिओल–बुसान रुटमा नेपाल झल्कियो
सिओल । नेपालको पर्यटन प्रवर्द्धनका लागि सिओलस्थित नेपाली राजदूतावासले तयार गरेको १७ सेकेन्ड लामो प्रवर्द्धनात्मक भिडियो दक्षिण कोरियाको सिओल–बुसान रुटमा सञ्चालन हुने कोरेलको हाई–स्पीड ट्रेनमा प्रदर्शन सुरु भएको छ।
ट्रेन नम्बर १०१ मा सन् २०२६ फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको उक्त भिडियोमा नेपालका प्रमुख पर्यटकीय सम्पदाहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा लुम्बिनी, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ र बौद्ध स्तूपका साथै नेपाली कला, संस्कृति र जीवनशैली झल्किने दृश्यहरू समावेश छन्।
उक्त परियोजनाको सुरुवातका लागि राजदूत डा. शिवमाया तुम्बाहम्फेले पहिलो पटक १४ अप्रिल २०२५ मा कोरेलका प्रमुख कार्यकारी अधिकृतसँग भेटघाट गर्दै प्रस्ताव राखेकी थिइन्। त्यसपछि इमेल र प्रत्यक्ष भेटघाटमार्फत निरन्तर फलोअप भएपछि कोरेल र योनहाप समाचार एजेन्सीको सहकार्यमा फेब्रुअरी महिनाभरि सिओल–बुसान रुटमा सञ्चालन हुने रेलमा दैनिक कम्तीमा दुईपटक निःशुल्क इन–ट्रेन स्क्रिनिङ गराउन राजदूतावास सफल भएको हो।
यस पहलप्रति “द कोरियन व्युटी कोर्ट” की प्रमुख तथा Korea Nepal International Exchange Association (kNIEA) की अध्यक्ष सृजना एलिसाले खुसी व्यक्त गर्दै लामो समयको समन्वय र मेहनतपछि कोरियन रेलमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो राख्न सफल भएको उल्लेख गरेकी छन्। उनले यस कार्यलाई सम्भव बनाउन सहयोग गर्ने सम्पूर्ण kNIEA सदस्यहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरेकी छन्।
कोरियाको व्यस्त रेलमार्गमा नेपाललाई विश्वसामु चिनाउने यो प्रयासले कोरियन पर्यटकहरूलाई नेपालतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।