बेलायतबाट जन्मभूमिको धार्मिक सम्पदाप्रति सुनार दम्पतीको उदारता, त्रैलोक्येश्वर महादेव मन्दिर संरक्षणका लागि ५१ हजार १०५ रुपैयाँ सहयोग घोषणा

theoutsidenepal.com

बेलायतबाट जन्मभूमिको धार्मिक सम्पदाप्रति सुनार दम्पतीको उदारता, त्रैलोक्येश्वर महादेव मन्दिर संरक्षणका लागि ५१ हजार १०५ रुपैयाँ सहयोग घोषणा

द टन न्युज । लमजुङ ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, धर्म, संस्कृति र सामाजिक सम्पदाप्रतिको दायित्वलाई आत्मसात् गर्दै आएका राजकुमार सुनार र शान्ति सुनार दम्पतीले लमजुङको बेसीशहर नगरपालिका–११, चिति रामचोकबेँसीस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र त्रैलोक्येश्वर महादेव मन्दिरको संरक्षण तथा व्यवस्थापनका लागि ५१ हजार १०५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

लमजुङको सुन्दरबजार नगरपालिका–९, फूलबारी स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आएका सामाजिक अभियन्ता तथा Rajshanti Foundation का प्रोप्राइटर सुनार दम्पतीले आफ्नो जन्मभूमिको धार्मिक सम्पदाको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा योगदान पुर्‍याउने पवित्र उद्देश्यका साथ उक्त सहयोग घोषणा गरेका हुन्।

सुनार दम्पतीको यो सहयोग घोषणा केवल आर्थिक योगदानमा सीमित छैन, यसले विदेशमा रहेर पनि आफ्नो माटो, मौलिक पहिचान, धर्म, संस्कृति र पुर्खाको आस्थाप्रति कति गहिरो सम्बन्ध राख्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

यसअघि पनि सुनार दम्पतीले त्रैलोक्येश्वर महादेव मन्दिरका लागि १० हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए। त्यस्तै, मन्दिर उद्घाटन समारोहमा पूजा व्यवस्थापनका लागि थप १० हजार १०५ रुपैयाँ सहयोग गरेर धार्मिक कार्यमा आफ्नो साथ र सद्भाव प्रकट गरेका थिए।

मन्दिरको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनमा अझ प्रभावकारी योगदान पुर्‍याउने उद्देश्यले यसअघिका सहयोगसमेत समेटेर कुल ५१ हजार १०५ रुपैयाँ पुर्‍याउने घोषणा गरिएको हो।

विदेशको व्यस्त जीवनशैलीबीच पनि जन्मभूमिको माटो बिर्सनुहुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै आएका सुनार दम्पतीको यो कदमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो गाउँ, समाज, मठमन्दिर तथा सांस्कृतिक सम्पदाको संरक्षणमा जोडिन प्रेरित गर्ने विश्वास गरिएको छ।

आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनसँगै सामाजिक सेवामा समेत सक्रिय सुनार दम्पतीले Rajshanti Foundation मार्फत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएका छन्।

यस सहयोगप्रति त्रैलोक्येश्वर महादेव मन्दिर संरक्षण समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। समितिले सुनार दम्पतीको उदार मन, धार्मिक आस्था र सामाजिक सेवाभावको उच्च प्रशंसा गर्दै उहाँहरूको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

जन्मभूमिको माटोप्रतिको माया सीमाभन्दा माथि हुन्छ। बेलायतमा रहेर पनि लमजुङको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सुनार दम्पतीले देखाएको यो आत्मीयता, सद्भाव र सहयोग भावना वास्तवमै प्रशंसनीय छ।

द टन न्युज परिवार राजकुमार सुनार तथा शान्ति सुनार दम्पतीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका यस्ता प्रेरणादायी कार्यले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्दछ।


प्रतिक्रिया