BREAKING—प्रधानमन्त्री समक्ष कुलमान घिसिङले बुझाए राजीनामा पत्र

theoutsidenepal.com

काठमाडौं — ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले आजै प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पत्र बुझाएका हुन्। सत्ता, शक्ति र आलोचनाको केन्द्रमा रहेका घिसिङको यो निर्णयले राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याएको छ।


फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उनले मन्त्री पद त्यागेका हुन्। भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामाबारे औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको छ।


प्रधानमन्त्री कार्यालयले राजीनामा बुझाउँदै गरेको तस्बिर सार्वजनिक गरिसकेको छ, जसले उनको निर्णयलाई अझ पुष्टि गरेको छ।


घिसिङले यसअघि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक नयाँ दल दर्ता गराएका थिए। तर पछिल्लो राजनीतिक समीकरणमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन्। हाल उनी रास्वपाका उपसभापति समेत हुन्।


गैरदलीय सरकारमा दलका नेता मन्त्री बनेको भन्दै चौतर्फी तीव्र आलोचना भएपछि घिसिङ नैतिक दबाबका बीच राजीनामाका लागि तयार भएका स्रोतको भनाइ छ।


अब कुलमान घिसिङ सरकारबाट बाहिरिएर सिधै जनताको मत माग्ने चुनावी मैदानमा उत्रिने भएका छन्।




प्रतिक्रिया