सीता सापकोटा : चार दशक लामो राजनीतिक यात्राबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा दाबी
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसकी नेतृ तथा महासमिति सदस्य सीता सापकोटाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन्। लामो समयदेखि कांग्रेसको संगठन, लोकतान्त्रिक आन्दोलन र प्रवासी नेपाली समुदायसँग जोडिएर सक्रिय रहँदै आएकी सापकोटाले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको आकांक्षाभन्दा पनि लामो राजनीतिक यात्राबाट प्राप्त जिम्मेवारीका रूपमा प्रस्तुत गरेकी छन्।
सापकोटाको राजनीतिक यात्रा किशोरावस्थादेखि नै सुरु भएको उनको दाबी छ। २०४४ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको ऐतिहासिक जनआन्दोलन तथा २०४८ सालको आमनिर्वाचनमा सक्रिय सहभागिता जनाउँदै उनी २०५० सालमा नेपाल विद्यार्थी संघ चितवन जिल्ला सचिवको जिम्मेवारीमा पुगेकी थिइन्।
त्यसपछि २०५२ सालमा चितवनमा तरुण दलको संस्थापक सदस्यका रूपमा सक्रिय हुँदै तरुण दल केन्द्रीय युवा महिला परिचालन समितिको उपसंयोजकको जिम्मेवारीसमेत सम्हालेको उनले उल्लेख गरेकी छन्।
राजनीतिक यात्राकै क्रममा उनी लामो समयदेखि बेल्जियममा रहेर पनि नेपाली कांग्रेसको संगठनसँग निरन्तर जोडिइरहेकी छन्। नेपाली जनसम्पर्क समिति बेल्जियमको पूर्वसभापतिको जिम्मेवारी सम्हालेकी सापकोटा कांग्रेसका विभिन्न महाधिवेशनमा समेत सक्रिय रहँदै आएको सार्वजनिक विवरणहरूमा देखिन्छ।
प्रवासमा रहे पनि नेपालको राजनीति, कांग्रेसको संगठन र देशसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएकी सापकोटाले बीपी कोइरालाको विचार, कांग्रेसको चारतारे झण्डा र लोकतान्त्रिक आदर्शलाई आफ्नो राजनीतिक यात्राको आधारका रूपमा प्रस्तुत गरेकी छन्।
उनले आफ्नो उम्मेदवारी घोषणामा भनेकी छन्—राजनीति उनका लागि पद प्राप्त गर्ने माध्यम मात्र नभई आस्था, आदर्श, निरन्तर साधना र अग्रज तथा साथीहरूले दिएको विश्वासप्रतिको जिम्मेवारी हो।
सापकोटाले प्रवासमा रहेका कांग्रेसजनको आवाजलाई पार्टीको मूलधारमा अझ प्रभावकारी ढंगले स्थापित गर्ने, विदेशमा बसेर पार्टी तथा समाजका लागि योगदान गरिरहेका नेपाली कांग्रेसका कार्यकर्ताको योगदानलाई सम्मान गर्ने र नेपाल तथा प्रवासका कांग्रेसजनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको राजनीतिक सक्रियता पछिल्ला वर्षहरूमा पनि सार्वजनिक रूपमा देखिँदै आएको छ। २०२६ जनवरीमा कांग्रेसको विशेष महाधिवेशनका क्रममा बेल्जियमबाट नेपाल आएकी सापकोटाले पार्टीको नेतृत्व, पुस्तान्तरण र संगठनात्मक सुधारबारे धारणा सार्वजनिक गरेकी थिइन्।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकी सापकोटाको परिचय प्रवासी नेपाली समुदायमा समेत जोडिएको छ। बेल्जियममा रहे पनि नेपालप्रतिको भावनात्मक तथा सामाजिक सम्बन्धलाई निरन्तरता दिँदै आएकी उनी आफूलाई प्रवास र मातृभूमिबीचको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा सक्रिय नेतृका रूपमा प्रस्तुत गर्छिन्।
चार दशक नजिकको राजनीतिक अनुभव, विद्यार्थी आन्दोलनदेखि कांग्रेस संगठनसम्मको सक्रियता, प्रवासी नेपाली समुदायमा नेतृत्वदायी भूमिका तथा महिला सहभागितालाई प्राथमिकता दिने धारणा बोकेर सीता सापकोटाले अब कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेकी छन्।
उनको उम्मेदवारीले प्रवासमा रहेका कांग्रेसजनको प्रतिनिधित्व, महिला नेतृत्व र पुरानो राजनीतिक अनुभवलाई पार्टीको केन्द्रीय संरचनासँग जोड्ने बहसलाई समेत अगाडि ल्याएको छ।
“समय बदलियो, राजनीति बदलियो, चुनौतीहरू बदलिए तर पार्टीप्रतिको मेरो संकल्प बदलिएको छैन” भन्ने सापकोटाको घोषणाले उनको उम्मेदवारीको मूल भावलाई प्रस्ट पार्छ।
सीता सापकोटा
महासमिति सदस्य
नेपाली कांग्रेस
केन्द्रीय सदस्य पदकी उम्मेदवार — १५औँ महाधिवेशन