अदालतको आदेशपछि जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय रोकियो

theoutsidenepal.com

अदालतको आदेशपछि जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय रोकियो


टोकियो । जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपनियोग प्रमुख हरिहरकान्त पौडेललाई परराष्ट्र मन्त्रालयले स्वदेश फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। अदालतको आदेशसँगै पौडेललाई फिर्ता बोलाउने मन्त्रालयको निर्णय तत्कालका लागि रोकिएको छ।

सेवाग्राहीको काममा अनावश्यक ढिलासुस्ती गरेको, सेवा प्रदान गर्ने नाममा घुस मागेको तथा दूतावासमा सेवा लिन आउने नेपाली नागरिकलाई अनावश्यक दुःख दिएको भन्दै विभिन्न गुनासो मन्त्रालयसम्म पुगेपछि उनलाई स्वदेश फिर्ता बोलाउने निर्णय गरिएको थियो।

तर, जापानमा पौडेलको कार्यशैलीलाई लिएर अर्को पक्षबाट पनि फरक धारणा सार्वजनिक हुन थालेको छ।

जापानमा लामो समयदेखि विभिन्न बहानामा नेपालीलाई ट्रेनिङ, गिजिंकोकु (भाषा अध्ययन), ब्याचलर, भिजिट तथा एसएसडब्लू भिसामा ल्याउने नाममा ठगी गर्ने र अलपत्र पार्ने एजेन्ट तथा बिचौलियाको गतिविधि बढिरहेको अवस्थामा पौडेलले त्यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गरेको बताइएको छ।

विशेषगरी जापान ल्याइदिने प्रलोभन देखाएर नेपाली नागरिकलाई आर्थिक तथा अन्य जोखिममा पार्ने बिचौलियामाथि दूतावासले कडाइ गरेपछि उनीहरूबाटै असन्तुष्टि बढेको हुन सक्ने अर्को पक्षको दाबी छ। दूतावासमा सम्पर्क गर्दा अनावश्यक झन्झट र ढिलासुस्ती बेहोर्नुपरेको भन्दै केही पक्षले मन्त्रालयसम्म गुनासो पुर्‍याएका थिए।

यद्यपि, पौडेलमाथि लगाइएका घुस मागेको लगायतका आरोपसम्बन्धी विस्तृत विवरण, उजुरीकर्ताको पहिचान र आरोप पुष्टि गर्ने प्रमाण सार्वजनिक भइसकेका छैनन्। त्यसैले आरोप र वास्तविकताबीचको निष्पक्ष छानबिन आवश्यक देखिन्छ।


राष्ट्रपति भ्रमणदेखि घुम्ती कन्सुलर सेवासम्म


पौडेलले जापानस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेपछि विभिन्न कूटनीतिक तथा समुदाय केन्द्रित गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको बताइएको छ।


उनकै कार्यकालमा नेपालको राष्ट्रपतिको जापान भ्रमण व्यवस्थापन, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानसँगको सहकार्यमा घुम्ती कन्सुलर सेवा सञ्चालन तथा जापानमा सक्रिय नेपाली संघसंस्थासँग समन्वय गरेर सेवा प्रवाहका काम अघि बढाइएको थियो।

जापानमा ठूलो संख्यामा नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नागरिक रहेकाले दूतावासको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। राहदानी, कागजात प्रमाणीकरण, यात्रा सहजीकरण तथा कानुनी र कन्सुलर सहयोगमा दूतावासको प्रभावकारिताले प्रत्यक्ष रूपमा नेपाली समुदायलाई असर पार्छ।

आरोपबारे पौडेलको जवाफ

पौडेल यसअघि कतार, इजरायल र स्पेनस्थित नेपाली कूटनीतिक नियोगमा समेत कार्यरत रहिसकेका अनुभवी कूटनीतिक अधिकारी हुन्। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी स्वदेश फर्किएपछि उनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए।

पौडेलका अनुसार सरकारी कर्मचारीको सरुवा, बढुवा, काज तथा फिर्ता नियमित प्रशासनिक प्रक्रिया हुन्। आफूलाई फिर्ता बोलाउने विषयलाई पनि यही प्रक्रियाको एउटा पाटोका रूपमा लिनुपर्ने उनको धारणा छ।

आफूमाथि लागेको घुस मागेको र सेवाप्रवाहमा ढिलासुस्ती गरेको आरोपबारे उनले जापानमा रहेका नेपाली नागरिकले आफ्नो काम र कार्यसम्पादन हेरेर मूल्यांकन गर्ने बताएका छन्।

अब अदालतको आदेशपछि पौडेलको जिम्मेवारी र मन्त्रालयको आगामी कदम के हुन्छ भन्ने चासो बढेको छ।


प्रतिक्रिया