सर्लाही–४ मा डा. अमरेश कुमार सिंहको पल्ला भारी, मिर्जापुरमा जनलहर व्यापक

theoutsidenepal.com

सर्लाही — बलरा नगरपालिकाको मिर्जापुरमा आयोजित जनअन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का उम्मेदवार डा. अमरेश कुमार सिंह ले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो, जसले सर्लाही–४ मा उनको पल्ला भारी रहेको संकेत गरेको समर्थकहरूको दाबी छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेताका रूपमा परिचित डा. सिंहले विकास, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताको सुझाव र गुनासोलाई आफ्नो एजेन्डाको केन्द्रमा राख्ने बताउँदै “राजनीति सेवा र जवाफदेहिताको माध्यम हुनुपर्छ” भन्ने धारणा राखेका छन्।


मिर्जापुरको अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाहरूले सडक, सिँचाइ, स्वास्थ्य सेवा विस्तार र युवाका लागि रोजगारी सिर्जनाका विषयमा आफ्ना अपेक्षा राखेका थिए। डा. सिंहले यी मुद्दालाई योजनाबद्ध ढंगले अघि बढाउने आश्वासन दिएका छन्।


फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा सर्लाही–४ मा चुनावी माहोल तातेको छ। विभिन्न वडामा भएको भेटघाट र अन्तरक्रियामा उल्लेख्य सहभागिता देखिँदा डा. अमरेश कुमार सिंहको पक्षमा जनलहर व्यापक बन्दै गएको उनका समर्थकहरूको भनाइ छ।


राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक सर्लाही–४ को चुनाव प्रतिस्पर्धात्मक भए पनि जनसंपर्क र संगठन विस्तारका हिसाबले डा. सिंहको अभियान प्रभावशाली देखिएको छ। अब फागुन २१ को मतपरिणामले सर्लाही–४ को राजनीतिक दिशा तय गर्नेछ।


प्रतिक्रिया