काठमाडौं — आसन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट टोलीको छनोट तथा तयारीको जिम्मेवारी नेपाल क्रिकेट संघ, बागमती प्रदेशले क्रिकेट निर्देशक तथा टियु टोलीका पूर्व कप्तान अनिल अधिकारीलाई दिएको छ। बागमती प्रदेश क्रिकेट संघले पत्रसहित उक्त जिम्मेवारी प्रदान गरेको हो।
अधिकारीले त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूबाट उत्कृष्ट १४ सदस्यीय टोली निर्माण गर्नुपर्नेछ। नेपाल क्रिकेट संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको क्रिकेट मैदानसम्बन्धी सम्झौताअनुसार विश्वविद्यालयलाई जिल्ला क्रिकेट संघ सरह मान्यता दिँदै राष्ट्रिय छनोटमा सहभागी गराउने परम्परा रहँदै आएको छ।
टियु टोलीले बागमती प्रदेशअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन जिल्लासँग प्रतिस्पर्धा गर्दै आएको छ। अधिकारीका अनुसार पछिल्लो वर्ष विश्वविद्यालयको प्रदर्शन सन्तोषजनक नरहेकाले यसपटक टोलीलाई सशक्त बनाउने लक्ष्य लिइएको छ। उनले छनोट प्रक्रियामा विभिन्न दबाब आउने गरे पनि निष्पक्ष रूपमा उत्कृष्ट खेलाडी छनोट गर्ने प्रतिबद्धता जनाएका छन्।
यद्यपि आफ्नै क्रिकेट मैदान भए पनि विश्वविद्यालयमा क्रिकेट प्रशिक्षकको दरबन्दी नहुँदा र आन्तरिक ढिलासुस्ती तथा आन्दोलनका कारण टोलीको तयारी प्रभावित हुने गरेको अधिकारीले बताएका छन्। हालै टियुको रेक्टर कार्यालयमा भएको तोडफोड घटनाका कारण पनि छनोट प्रक्रिया केही ढिलो हुने अनुमान गरिएको छ।
पूर्व लेग स्पिनर अधिकारीले आफू खेलाडी हुँदा टियु टोलीलाई क्षेत्रीय च्याम्पियन बनाएको स्मरण गर्दै, पूर्व अन्तर्राष्ट्रिय खेलाडी पृथु बास्कोटा कप्तान हुँदा प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीमा पुनरागमन गरेको अनुभवलाई टोलीको सुदृढीकरणमा प्रयोग गर्ने बताए।
युवा नेता समेत रहेका अधिकारीले खेलकुद विज्ञानमा स्नातकोत्तर गर्दै नेपालमा खेलकुद पर्यटनको सम्भावनाबारे शोधपत्र पूरा गरेका छन्। उनका अनुसार नेपालमा खेलकुद पर्यटनको अथाह सम्भावना रहेकाले यसको विकासका लागि छुट्टै खेलकुद पर्यटन बोर्ड स्थापना आवश्यक छ।
यसपटकको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको बागमती छनोटमा त्रिभुवन विश्वविद्यालय टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।