चितवन — चितवन–३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की चर्चित नेतृ सोविता गौतमले आमाको आशिर्वादसहित चुनावी अभियान अघि बढाइरहेको बताएकी छन्। सामाजिक सञ्जालमा उनले “आमाको अन्तस्करणले दिएको आशिर्वादमा भविष्य प्रतिको आशा छ, म आमाको आशिर्वाद लिएर हिडेको छु” भन्ने भावनात्मक सन्देश साझा गरेपछि समर्थकहरूबीच उत्साह थपिएको छ।
चितवन–३ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ। सोविता गौतमको मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पूर्व मेयर रेनु दाहालसँग भइरहेको छ। दुवै नेतृ आ–आफ्ना एजेन्डा र चुनावी रणनीतिसहित मतदाताको घरदैलोमा व्यस्त छन्।
यसबीच चितवनमा रास्वपाको चुनाव चिन्ह “घण्टी” प्रति युवापुस्तादेखि सर्वसाधारणसम्म आकर्षण बढ्दै गएको बताइएको छ। स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म घण्टीको चर्चा तीव्र बनेपछि चुनावी माहोल थप तातेको छ।
मतदान मिति नजिकिँदै जाँदा चितवन–३ को चुनावी प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ भने मतदाताहरू परिवर्तन, विकास र नेतृत्वको क्षमताका आधारमा आफ्नो निर्णय लिनेतर्फ केन्द्रित देखिएका छन्।