के प्रचण्ड कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सक्छन ?

theoutsidenepal.com

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता सरल सहयात्रीले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा ‘घर फर्कन’ सार्वजनिक आह्वान गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग उज्यालो नेपाल पार्टीको एकता भाँडिएलगत्तै आएको यो आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


सहयात्रीले नेकपालाई संघीयता, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रको मुख्य आधार भएको पार्टीको रूपमा व्याख्या गर्दै कुलमान घिसिङले पार्टीप्रति पुनः प्रतिबद्धता जनाएमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा उनलाई प्रधानमन्त्री बनाउने सम्भावना समेत रहेको दाबी गरेका छन्।


उनले भने, “कुलमानजी जनताको भरोसा र आशाको प्रतीक हुनुहुन्छ। यदि उहाँ घर फर्कनुहुन्छ भने नेकपाले उहाँलाई राष्ट्रिय नेतृत्वमा अघि सार्न सक्छ।” सहयात्रीले अझै निर्णयका लागि समय बाँकी रहेको उल्लेख गर्दै कुलमान घिसिङलाई गम्भीर पुनर्विचार गर्न आग्रहसमेत गरेका छन्।


यसैबीच, ‘प्रचण्ड कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने मुडमा छन्’ भन्ने चर्चा राजनीतिक वृत्तमा तीव्र रूपमा फैलिएको छ। यद्यपि नेकपाको शीर्ष नेतृत्वबाट औपचारिक निर्णय सार्वजनिक नभए पनि सहयात्रीको अभिव्यक्तिले प्रचण्ड–कुलमान सत्ता समीकरणको सम्भावनालाई बल दिएको विश्लेषकहरू बताउँछन्।


ऊर्जा क्षेत्रको सफल नेतृत्व र सुशासनको प्रतीक मानिएका कुलमान घिसिङ पुनः नेकपा राजनीतिमा फर्किए राजनीतिमा ठूलो उलथापालथ हुन सक्ने अनुमान गरिएको छ। अब प्रश्न उठेको छ— के कुलमान घिसिङ ‘घर फर्केर’ प्रधानमन्त्री बन्ने राजनीतिक यात्रामा अघि बढ्लान्?

यसको जवाफ आउने दिनहरूले दिनेछन्।


प्रतिक्रिया