काठमाडौं । रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले माघ २३, २०८२ मा जारी विज्ञप्तिमार्फत घटनाले पार्टी स्तब्ध र मर्माहत भएको जनाएका हुन्।
विज्ञप्तिमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। पार्टीले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने विषयमा कुनै कसर बाँकी नराख्ने भन्दै पार्टीले राहत तथा सहयोगका लागि आवश्यक पहल भइरहेको जानकारी दिएको छ। साथै, आगामी दिनमा चुनावी अभियानमा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन, सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार तथा सवारी चालकहरूलाई कडा निर्देशन जारी गरिएको जनाइएको छ।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।