प्रेम दिवसको माहोलबीच कैलाली–४ मा ‘आनन्द’को चुनावी उत्साह

theoutsidenepal.com

प्रेम दिवसको माहोलबीच कैलाली–४ मा ‘आनन्द’को चुनावी उत्साह — सखिया नृत्यमा छमछमी नाच्दै जनताको मन जित्दै गोरखबहादुर बिष्ट


कैलाली । देशभर भ्यालेन्टाइन डे र प्रेम दिवसको चर्चा चलिरहेका बेला आसन्न फागुन २१ को निर्वाचनले राजनीतिक माहोल झन् तातेको छ। यही चुनावी रङ्गबीच कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा भने प्रेम, संस्कृति र सौहार्दले भरिएको एउटा दृश्यले सबैको ध्यान खिचेको छ।


नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’ शनिबार बिहानै स्थानीय प्रख्यात शक्तिपीठ मोहन्याल मन्दिर पुगेर पूजा–आराधना गर्दै चुनावी अभियान सुरु गर्नुभयो। मन्दिरका पुजारी तोयानाथ जोशीबाट आशिर्वाद लिएपछि उहाँ गाउँ–गाउँमा जनतासँग भेटघाटमा निस्कनुभयो।


गौरीगंगा–४ को राजीपुरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले स्थानीयका समस्या, अपेक्षा र सुझाव ध्यानपूर्वक सुन्नुभयो। सत्ता, शक्ति र सुविधा होइन, जनताको सच्चा सारथि बन्ने लक्ष्यसहित आफू मैदानमा उत्रिएको प्रतिबद्धता व्यक्त गर्नुभयो।


तर चुनावी अभियानको सबैभन्दा रोचक दृश्य गोदावरी–५ को बरबट्टा गाउँमा देखियो। त्यहाँ पुग्दा उहाँलाई स्थानीय थारु समुदायले फूलमाला, अबिर र बाजागाजासहित भव्य स्वागत गरे। सखिया नृत्यसहितको सांस्कृतिक झाँकीले दुलाहाझैँ सजाएर स्वागत गर्दा आनन्द पनि उत्साहित बने। स्थानीयको आग्रहपछि उहाँ सखिया नृत्यमा छमछमी नाच्दै सहभागी हुनुभयो, जसले चुनावी माहोललाई उत्सवमय बनायो।


भ्रष्टाचार र कुशासनका कारण राजनीतिप्रति वितृष्णा बढेको भनिने समयमा स्थानीय जनता भने आनन्दको आगमनमा आशावादी देखिए। “हाम्रो क्षेत्रमा यसरी घरघरै पुगेर भेट्ने पहिलो नेता तपाईँ नै हो,” भन्दै धेरै स्थानीयले खुलेर प्रशंसा गरे।


हरेक दिन दुर्गम बस्तीहरूमा पुग्दै जनताका पीडा, समस्या र अपेक्षा सुन्दै योजना बनाउँदै अघि बढिरहेका बिष्ट अहिले कैलाली–४ का गाउँ–गाउँमा लोकप्रिय बन्दै गएका छन्। प्रेम दिवसको माहोलबीच संस्कृति, सम्मान र जनताको माया बोकेर अघि बढिरहेका ‘आनन्द’को अभियानले चुनावी मैदानलाई थप रोमाञ्चक बनाएको स्थानीयहरू बताउँछन्। 


प्रतिक्रिया