देवदहको ऐतिहासिक तथा बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नुपर्नेमा एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको जोड

theoutsidenepal.com

द टन न्युज | विशेष रिपोर्ट

देवदहको ऐतिहासिक तथा बौद्ध सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नुपर्नेमा एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचनको जोड

देवदह । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले रुपन्देहीस्थित ऐतिहासिक देवदहलाई बौद्ध तीर्थस्थल, सांस्कृतिक सम्पदा तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।


देवदह भ्रमणका क्रममा नगरप्रमुख ध्रुव खरेल तथा देवदह नगरपालिकाबाट प्राप्त न्यानो स्वागत, आतिथ्य र सहयोगप्रति आभार व्यक्त गर्दै शेरचनले देवदहको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन्।


प्राचीन कोलिय गणराज्यसँग जोडिएको देवदह भगवान् गौतम बुद्धको मातृपक्षीय विरासतका कारण विशेष ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो। गौतम बुद्धकी माता मायादेवीको माइती क्षेत्रका रूपमा परम्परागत रूपमा परिचित देवदहले नेपालको बौद्ध इतिहास र समृद्ध सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्दछ।


शेरचनका अनुसार देवदहमा बौद्ध पर्यटन तथा सांस्कृतिक पर्यटनको विकासका लागि पर्याप्त सम्भावना रहेको छ। यहाँका ऐतिहासिक स्थलहरूको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सकेमा देवदहलाई विश्व पर्यटनको नक्सामा स्थापित गर्न सकिने विश्वास उनले व्यक्त गरेका छन्।


ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणलाई दिगो पर्यटन विकाससँग जोड्न सकेमा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने देखिन्छ। यसका लागि स्थानीय सरकार, पर्यटन क्षेत्रका सरोकारवाला तथा अन्तर्राष्ट्रिय नेपाली समुदायबीच सहकार्य आवश्यक रहेको उनको सन्देश छ।

देवदह नगरपालिकाबाट प्राप्त आत्मीय स्वागत र सहयोगका लागि नगरप्रमुख ध्रुव खरेलप्रति पुनः धन्यवाद व्यक्त गर्दै शेरचनले नेपालको ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन गन्तव्यहरूको प्रवर्द्धनमा सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन्।

द टन न्युज

प्रतिक्रिया