धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिमको राजनीतिक केन्द्र धनगढी आउने भएका छन्। पार्टीको चुनावी अभियानलाई थप सशक्त बनाउन दुवै शीर्ष नेताले धनगढीमा आयोजना हुने विशाल चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टका अनुसार दुवै नेता फागुन ६ गते धनगढी पुगेर चुनावी सभामा सहभागी हुनेछन्। सो सभामा पार्टीका स्थानीयदेखि केन्द्रीय नेतासम्मको व्यापक उपस्थिति रहने र हजारौं समर्थकको सहभागितासहित ऐतिहासिक शक्ति प्रदर्शन हुने अपेक्षा गरिएको छ।
प्रदेश सभापति विष्टले दुवै नेताले धनगढीमा कार्यकर्ता र मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका आगामी योजना, विकासका दृष्टिकोण र सुशासनका प्रतिबद्धता प्रस्तुत गर्ने जानकारी दिए। धनगढीको सभा सम्पन्न गरेपछि उनीहरू फागुन ७ गते सुर्खेतमा आयोजना हुने अर्को चुनावी सभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ।
रास्वपाले सुदूरपश्चिममा जनसमर्थन विस्तार गर्ने रणनीतिसहित शीर्ष नेतृत्वको सक्रिय उपस्थिति बढाउँदै लगेको छ। लामिछाने र शाहको संयुक्त उपस्थितिले चुनावी माहोल थप तातेको र पार्टी कार्यकर्तामा नयाँ ऊर्जा थपिएको बताइएको छ।