नेपालका बाढी तथा पहिरो पीडितलाई नेपाली अमेरिकन कलाकार संघको सहयोग

theoutsidenepal.com

नेपालका बाढी तथा पहिरो पीडितलाई नेपाली अमेरिकन कलाकार संघको सहयोग

न्यूयोर्क, अमेरिका। नेपालमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगार्थ अमेरिकाको न्यूयोर्कस्थित नेपाली अमेरिकन कलाकार संघ (Nepali American Artists Association Inc.) ले आर्थिक सहयोग प्रदान गरेको छ।



संघकी अध्यक्ष बसन्ती राईको नेतृत्वमा संकलित सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइएको संघले जनाएको छ। संघका अनुसार राहत कोषमा रु. १,५९,६४८ (एक लाख उनन्साठी हजार छ सय अठचालीस रुपैयाँ) सहयोग प्रदान गरिएको हो।

उक्त सहयोगका लागि संस्थाको तर्फबाट ५०० अमेरिकी डलर प्रदान गरिएको थियो भने विभिन्न व्यक्तिहरूले व्यक्तिगत रूपमा समेत सहयोग गरेका थिए।



सहयोग गर्नेहरूमा बसन्ती राई, निशा सुनार, बिमल दांगी, संगिता थापा मगर, दीपक कलाथोकी, प्रेम सेन्चुरी, नवीन श्रेष्ठ, खडग बी. पुलामी (बिक्की), पुष्कर बराल, सरिता दांगी र दिनेश सुनार रहेका छन्।

अध्यक्ष बसन्ती राईले विपद्को कठिन घडीमा पीडित परिवारहरूको दुःखमा साथ दिनु र आफ्नो क्षमताअनुसार सहयोग गर्नु सबैको मानवीय कर्तव्य भएको बताउनुभएको छ। संघले सहयोग अभियानमा साथ दिने सम्पूर्ण सदस्य तथा सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

संघले देश–विदेशमा रहेका नेपालीहरूलाई पनि बाढी तथा पहिरो प्रभावित परिवारका लागि आ–आफ्नो ठाउँबाट सक्दो आर्थिक, नैतिक तथा मानवीय सहयोग गर्न अपिल गरेको छ।

“आउनुहोस्, विपद्को घडीमा एकजुट बनौं, सकेको सहयोग गरौं र पीडितहरूको दुःखमा साथ दिऔं।”

नेपाली अमेरिकन कलाकार संघले नेपाली कला, संस्कृति र समुदायसँगै आवश्यक परेको समयमा मातृभूमिका लागि मानवीय तथा सामाजिक कार्यमा समेत सक्रियता जनाउँदै आएको छ।

प्रतिक्रिया