२७ वर्षपछि कांग्रेसको केन्द्रीय जिम्मेवारीमा फर्किइन् सीता सापकोटा, महाधिवेशन प्रतिनिधिप्रति व्यक्त गरिन् आभार
द टन न्युज ।
नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य सीता सापकोटाले पार्टीको १५औँ महाधिवेशनबाट आफूलाई विजयी गराउन सहयोग गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेकी छन्।
करिब २७ वर्षको विदेश बसाइपछि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा फर्किन पाउँदा उनले आफ्नो राजनीतिक यात्राले सार्थकता पाएको बताएकी छन्। विदेशमा रहे पनि नेपाली कांग्रेसका सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई सधैँ हृदयमा राखेर अघि बढेको उनको भनाइ छ।
नेविसंघ र तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेकी सापकोटाले भौगोलिक रूपमा देश छाडेर विदेशमा बस्नुपरे पनि पार्टीप्रतिको लगाव, भावना र प्रतिबद्धता कहिल्यै नछाडेको उल्लेख गरेकी छन्। लामो समयपछि पार्टीको केन्द्रीय जिम्मेवारीमा फर्किनु आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताएकी छन्।
सापकोटाले यो सफलता आफ्नो व्यक्तिगत प्रयासले मात्रै सम्भव नभएको स्पष्ट पार्दै आदरणीय अग्रज नेताहरूको सद्भाव, महाधिवेशन प्रतिनिधिहरूको साथ तथा साथीभाइको सहयोगलाई विजयको मुख्य आधारका रूपमा लिएकी छन्। विशेषगरी डायस्पोरामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको तर्फबाट प्राप्त अत्यधिक मत, विश्वास र मायाप्रति उनले कृतज्ञता व्यक्त गरेकी छन्।
‘तपाईंहरूको विश्वास, साथ र मायाले नै यो जित सम्भव भयो,’ उनले आफ्नो धन्यवाद सन्देशमा उल्लेख गरेकी छन्।
नवनिर्वाचित केन्द्रीय सदस्य सापकोटाले पार्टीलाई अझ एकताबद्ध, लोकतान्त्रिक, नवीन र समावेशी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्। पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिँदै देश तथा जनताको हितमा मिलेर काम गर्नुपर्ने उनको धारणा छ।
उनले पार्टीलाई बलियो बनाउन विभाजनभन्दा एकता, प्रतिस्पर्धाभन्दा सहकार्य र व्यक्तिगत स्वार्थभन्दा साझा उद्देश्यलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएकी छन्।
‘हाम्रो साझा लक्ष्य भनेको फुटेर होइन, जुटेर देश र जनताका लागि काम गर्नु हो,’ सापकोटाले भनेकी छन्।
विदेशमा रहेर पनि नेपाली कांग्रेससँगको राजनीतिक सम्बन्ध र प्रतिबद्धतालाई निरन्तरता दिएकी सापकोटाको केन्द्रीय सदस्यमा विजयलाई प्रवासमा रहेका कांग्रेसजनको विश्वास र सहभागितासँग जोडेर हेरिएको छ।
आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सबैप्रति पुनः धन्यवाद व्यक्त गर्दै उनले आफ्नो सन्देशको अन्त्य ‘जय नेपाल’ भन्दै गरेकी छन्।