अधिवेशन स्थगितप्रति सगुन श्रेष्ठको क्षमायाचना, संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता

theoutsidenepal.com

अधिवेशन स्थगितप्रति सगुन श्रेष्ठको क्षमायाचना, संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को हिजो सम्पन्न हुन नसकेको क्षेत्रीय अधिवेशनका विषयमा क्षेत्रीय सभापति पदका उम्मेदवार सगुन श्रेष्ठले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूप्रति क्षमायाचना व्यक्त गरेका छन्।

प्राविधिक त्रुटिका कारण अधिवेशन स्थगित हुन पुगेको भन्दै श्रेष्ठले त्यसबाट प्रतिनिधिहरूले भोग्नुपरेको दुःख, असुविधा तथा कठिनाइप्रति हार्दिक क्षमायाचना गरेका हुन्।


श्रेष्ठले सामाजिक सञ्जालमार्फत जारी गरेको आफ्नो भनाइमा उत्पन्न असहज परिस्थितिप्रति आफू अत्यन्त संवेदनशील रहेको उल्लेख गरेका छन्। साथै आगामी दिनमा सबै प्रतिनिधि तथा साथीहरूको भावना, समय र सहभागितालाई उच्च सम्मान गर्दै संगठनलाई अझ व्यवस्थित, एकताबद्ध र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्रीय सभापति पदका उम्मेदवार श्रेष्ठले संगठनभित्र देखिएका चुनौतीलाई सहकार्य र आपसी समझदारीका माध्यमबाट समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने धारणा राखेका छन्।

उनले आफ्नो वक्तव्यको अन्त्यमा ‘जय नेपाल!’ भन्दै सबै क्षेत्रीय प्रतिनिधि तथा कांग्रेस कार्यकर्ताप्रति सम्मान व्यक्त गरेका छन्।

सगुन श्रेष्ठ नेपाली कांग्रेसभित्र सक्रिय युवा नेताका रूपमा परिचित छन्। सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि उनको उम्मेदवारीले स्थानीय पार्टी राजनीतिमा समेत चासो बढाएको छ।


प्रतिक्रिया