एनआरएनए आईसीसी अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा— ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’

theoutsidenepal.com

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५–२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।


आइतबार जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहमा शेरचनले ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। आगामी मार्च १४, १५ र १६ मा काठमाडौँमा हुने संघको १२औँ विश्व सम्मेलनबाट नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गर्दै उनले संस्थाभित्र देखिएको विभाजन अन्त्य गर्दै एनआरएनएलाई बलियो, एकीकृत र परिणाममुखी बनाउने प्रतिबद्धता जनाए।


१५ वर्षदेखि जापानलाई कर्मभूमि बनाएर एनआरएनएको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका शेरचनले यस अवसरमा १५ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरे। उनले एनआरएनए विगत केही वर्षदेखि गम्भीर चुनौती र कठिन अवस्थाबाट गुज्रिरहेको स्वीकार गर्दै अब संस्थालाई पुनः एकताबद्ध बनाउनु नै आफ्नो प्रमुख दायित्व हुने बताए।



‘एक मन, एक संगठन’ को संकल्प



‘एक मन, एक संगठन’ को अवधारणा अघि सार्दै शेरचनले संस्थाभित्रको आन्तरिक कलह, अविश्वास र मनमुटावलाई सधैँका लागि अन्त्य गरी सबै अभियन्ता तथा गैरआवासीय नेपालीलाई एउटै छानोमुनि ल्याउने संकल्प व्यक्त गरे।



नागरिकता र मताधिकार प्राथमिक एजेन्डा



शेरचनको कार्ययोजनामा गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकार मुख्य प्राथमिकतामा रहेका छन्। संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका कानुनी तथा प्रशासनिक जटिलता हटाउन निर्णायक पहल गर्ने उनले बताए।

सर्वोच्च अदालतको परमादेशअनुसार प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाए।



भूतपूर्व गोर्खा, श्रमिक र लगानी



करिब दुई शताब्दीदेखि अन्यायमा परेका भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकार को मुद्दालाई शेरचनले विशेष प्राथमिकतामा राखेका छन्। बेलायत सरकारसँग भइरहेको जी–टू–जी वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन एनआरएनएको तर्फबाट दबाबमूलक र सहयोगी भूमिका खेल्ने उनको योजना छ।


त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा र हकहितका लागि ‘श्रम डेस्क’ लाई अझ प्रभावकारी बनाइने उनले बताए।


आर्थिक एजेन्डामा उनले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाउने, साना लगानीकर्तालाई समेत समेट्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओमार्फत लगानीमा जोड्ने लक्ष्य प्रस्तुत गरे। नेपालमा विदेशी तथा एनआरएन लगानी भित्र्याउन आवश्यक कानुनी सुधारका लागि सशक्त लबिङ गर्ने उनको योजना छ।


निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने वाचा पनि शेरचनले गरेका छन्। साथै, थाइल्याण्ड, म्यानमार लगायतका देशमा पुस्तौँदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायलाई एनआरएन कार्ड प्रदान गरी नेपालको मूलप्रवाहसँग जोड्ने विषय पनि उनको कार्ययोजनामा समेटिएको छ।



विवादरहित नेतृत्व आजको आवश्यकता : अध्यक्ष महेश श्रेष्ठ



कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठले आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित, समन्वयकारी र सबैलाई समेट्न सक्ने व्यक्तित्व आवश्यक रहेको बताए।

विगत पाँच वर्षको आन्तरिक विभाजनले विदेशमा रहेका करिब ८० लाख नेपालीको आस्थामा चोट पुगेको उल्लेख गर्दै उनले अबको नेतृत्वले एकतालाई स्थायी निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।


अध्यक्ष श्रेष्ठले आर्थिक सम्भावनाबारे बोल्दै १० लाख नेपालीले प्रतिमहिना २० हजार रुपैयाँ बचत गरी लगानी गरे वार्षिक २ खर्ब रुपैयाँ पुँजी संकलन हुन सक्ने बताए। एनआरएनएले अब हाइड्रोपावर, रसायनिक मल उद्योग र हाइड्रोजन इन्धन जस्ता ठूला परियोजनामा लगानी गर्नुपर्ने धारणा पनि उनले राखे।



व्यापक समर्थन र सहभागिता



कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले लिखित सन्देशमार्फत शेरचनलाई शुभकामना दिँदै साझा एनआरएनए निर्माणमा उनको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।


समारोहमा हिक्मत थापा, सोम लामा, राजेन्द्र कुमार शर्मा, यास्मिन बेगम, टीका गुरुङ, जितु गुरुङ, रोजिना प्रधान, एनआरएनए बेल्जियमका अध्यक्ष लोकेन्द्र नेपाल, जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, अस्ट्रेलियाका सचिव कल्याण खड्का, सुपेन्द्र घिसिङ, पिताम्बर भट्टराई, दिलीप गुरुङ लगायत प्रभावशाली व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।

एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, विभिन्न राजनीतिक दलका प्रवास संगठनका प्रतिनिधि तथा एसिया–प्यासिफिक क्षेत्रका अभियन्ताहरूले पनि शेरचनको उम्मेदवारीप्रति समर्थन जनाए।


स्वागत मन्तव्य एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले गरेका थिए।


आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ। वर्तमान परिस्थितिमा सबैको साझा र विश्वासयोग्य विकल्पका रूपमा रोबिन शेरचन बलिया उम्मेदवार का रूपमा उभिएका छन्।


प्रतिक्रिया