गोरखबहादुर बिष्ट ‘आनन्द’द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

theoutsidenepal.com

गोरखबहादुर बिष्ट ‘आनन्द’द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

तीन दशक लामो राजनीतिक तथा सामाजिक यात्रालाई केन्द्रीय जिम्मेवारीसँग जोड्ने प्रतिबद्धता

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

तीन दशकभन्दा बढी समयदेखि लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन, सामाजिक सेवा तथा जनजीविकाका सवालमा सक्रिय रहँदै आएका बिष्टले कांग्रेसलाई नयाँ पुस्ताको आवश्यकता र बदलिँदो समयअनुसार गतिशील, उत्तरदायी र नतिजामुखी बनाउने संकल्पसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। 


बिष्टले आफ्नो उम्मेदवारी व्यक्तिगत पद, प्रतिष्ठा वा महत्वाकांक्षाका लागि नभई जनता, पार्टीका नेता–कार्यकर्ता र लोकतान्त्रिक मूल्यप्रति थप जिम्मेवारीका साथ काम गर्ने उद्देश्यले भएको बताएका छन्।

उनले कांग्रेसलाई गुटबन्दी र आन्तरिक खिचातानीभन्दा माथि उठाउँदै एकताबद्ध, अनुशासित र मर्यादित संगठनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी, विदेशमा रहेका लाखौँ नेपालीले आर्जन गरेको ज्ञान, सीप, अनुभव र पूँजीलाई राष्ट्र निर्माणसँग जोड्ने तथा विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता पनि बिष्टले व्यक्त गरेका छन्।

उनका एजेण्डामा प्रविधिमैत्री कांग्रेस, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, उद्यमशीलता, आर्थिक रूपान्तरण, समावेशिता र पार्टी एकता प्रमुख रूपमा रहेका छन्।

बिष्टले कांग्रेस चुनाव जित्ने माध्यम मात्र नभई मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणको महत्वपूर्ण राजनीतिक शक्ति भएकाले पार्टीलाई आधुनिक, पारदर्शी र जनविश्वासयोग्य बनाउने दिशामा आफूले योगदान गर्न चाहेको बताएका छन्। 

कैलाली–४ मा ८१ प्रतिशत मत

बिष्ट नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

क्षेत्रीय अधिवेशनमा खसेको कुल ६९० मतमध्ये बिष्टले ५६० मत प्राप्त गरेका थिए। यो कुल मतको करिब ८१ प्रतिशत हो।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि बिष्टले क्षेत्रीय प्रतिनिधि, वडा सदस्य, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै कांग्रेसलाई अझ एकताबद्ध, अनुशासित र सुदृढ बनाउन आफू सक्रिय रहने बताएका थिए।

को हुन् गोरखबहादुर बिष्ट ‘आनन्द’?

बिष्टको राजनीतिक सक्रियता विद्यार्थी जीवनदेखि नै सुरु भएको देखिन्छ। २०४६ सालको जनआन्दोलनका क्रममा भारतको देहरादुनमा अध्ययनरत रहेका बिष्ट लोकतन्त्रको पक्षमा आयोजित गतिविधिमा सहभागी भएको उनको राजनीतिक परिचयमा उल्लेख छ।

नेपाल फर्किएपछि काठमाडौंको शंकरदेव क्याम्पसमा अध्ययन गरेका उनी सन् १९९८ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगे। अमेरिका पुगेपछि पनि नेपाली लोकतान्त्रिक आन्दोलन र प्रवासी नेपाली समुदायसँगको राजनीतिक गतिविधिमा उनको संलग्नता निरन्तर रह्यो।

सन् १९९९ मा न्युयोर्कमा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना गरी संस्थापक संयोजकको भूमिका निर्वाह गरेको तथा सन् २००२ मा संयुक्त राष्ट्रसंघको भवनअगाडि लोकतन्त्रको पक्षमा आयोजित प्रदर्शनको नेतृत्व गरेको विवरण सार्वजनिक भएको छ। 

२०६२/६३ को जनआन्दोलनका क्रममा अमेरिकाका विभिन्न सहरमा लोकतन्त्रका पक्षमा गतिविधि सञ्चालन गर्न बिष्ट सक्रिय रहेको बताइन्छ। त्यसपछि नेपाली कांग्रेसको प्रवासी संगठन निर्माण तथा विस्तारमा समेत उनले भूमिका निर्वाह गरेका थिए।

सन् २००५ मा नेपाली जनसम्पर्क समिति अमेरिकाका संस्थापक संयोजक बनेका बिष्ट त्यसपछि अमेरिकामा संगठन विस्तारमा सक्रिय रहे। सन् २००८ र २०१४ मा उनी अमेरिका समितिको सभापतिमा निर्वाचित भएको विवरण पनि सार्वजनिक छ। 

राजनीतिसँगै बिष्ट सामाजिक सेवामा समेत सक्रिय रहेको उनको परिचयमा उल्लेख छ। अमेरिका पुगेका नेपालीलाई सहयोग गर्ने, विद्यार्थीलाई रोजगारी तथा आवश्यक सहयोग उपलब्ध गराउने, बिरामीको उपचारमा सहजीकरण गर्ने तथा निधन भएका नेपालीको शव व्यवस्थापन र नेपाल पठाउने कार्यमा उनले सहयोग गर्दै आएको बताइएको छ।

कोभिड–१९ महामारीका समयमा न्युयोर्कमा नेपाली समुदायका लागि मास्क, सेनिटाइजर तथा खाद्यान्न वितरणमा सक्रिय रहेको र नेपालमा भएका विभिन्न प्राकृतिक विपद्का समयमा समेत राहत तथा पुनर्निर्माणमा सहयोग गरेको उनको विवरणमा उल्लेख छ।

नेपालमा २०७२ सालको भूकम्पपछि अस्थायी संरचना निर्माण, त्रिपाल तथा खाद्यान्न वितरण र विद्यालय पुनर्निर्माणमा सहयोग गरेको तथा विभिन्न जिल्लामा विपद् प्रभावित र जीर्ण विद्यालयका लागि सहयोग पुर्‍याएको बताइएको छ।

केन्द्रीय सदस्यमा नयाँ जिम्मेवारीको खोजी

लामो राजनीतिक, प्रवासी संगठनात्मक तथा सामाजिक यात्रापछि बिष्ट अहिले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा छन्।

उनले आफूलाई प्राप्त राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणसँग जोड्दै कांग्रेसलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी, एकताबद्ध र जनउत्तरदायी बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

द टन न्युज
विशेष रिपोर्ट


प्रतिक्रिया