द टन न्युज ॥ विशेष रिपोर्ट
सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ : सभामुख अर्याल
काठमाडौं, १४ असोज २०८३ । सम्माननीय सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को समुद्घाटन गर्दै सभामुख अर्यालले आजको समयमा सीप अतिरिक्त योग्यता मात्र नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताउनुभयो।
उहाँले संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले नागरिकले त्यसको व्यवहारमै अनुभूति गर्ने गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो।
६६ प्रतिशतभन्दा बढी श्रमयोग्य जनसंख्या अवसरमा बदल्नुपर्ने
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै सभामुख अर्यालले ठूलो श्रमशक्तिलाई मुलुकको विकासका लागि जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण दिशाका रूपमा अघि बढाउन आवश्यक छ।
सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गर्दै उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएको तथा रोजगारदाताबाट १४ हजार ७८८ रोजगारीका लागि माग भएको जानकारी दिनुभयो।
युवा स्वदेशमै, श्रम बजारसँग सीपको तालमेल आवश्यक
स्वदेशमा रोजगारी खोज्ने युवा र अर्कोतर्फ जनशक्ति अभावका कारण विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीच रहेको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीच प्रभावकारी तालमेल आवश्यक रहेको सभामुख अर्यालको भनाइ छ।
उहाँले ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो।
उहाँले श्रमाधान सीप तथा रोजगार मेला सीपमूलक, उत्पादनशील र मर्यादित रोजगारीतर्फ अघि बढ्ने महत्वपूर्ण पहल भएको बताउनुभयो।
१० क्षेत्रमा निःशुल्क व्यावहारिक तालिम
असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा युवालाई लक्षित गर्दै विभिन्न १० वटा विषयमा पूर्णतः निःशुल्क तथा छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ।
मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी तथा वातानुकूलन (एसी) मर्मत, बारिस्ता लगायतका सीपमूलक क्षेत्रमा तालिम उपलब्ध गराइनेछ।
त्यसैगरी मेलामा ६५ वटा स्टल राखिएका छन्। स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक एवं वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ।
श्रमाधान सीप तथा रोजगार मेलाले सीप सिक्न चाहने युवा, रोजगारी खोजिरहेका जनशक्ति, रोजगारदाता तथा वित्तीय र तालिम प्रदायक संस्थाबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
द टन न्युज — देशदेखि विश्वसम्म एउटै आवाज।