प्रधानसेनापति सिग्देल साताव्यापी भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल साताव्यापी औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गर्नुभएको छ। नेपाली सेनाको कमान्ड सम्हालेपछि प्रधानसेनापति सिग्देलको यो पहिलो चीन भ्रमण हो।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भदौ २९ देखि ३१ गते अर्थात् सेप्टेम्बर १५ देखि १७ सम्म आयोजना हुने १३औँ बेइजिङ सिसियाङसान फोरममा सहभागी भई सम्बोधन गर्नुहुनेछ।
चीन भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चिनियाँ उच्च सैन्य नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–चीन सैन्य सहकार्य, द्विपक्षीय रक्षा सम्बन्ध तथा ‘सगरमाथा फ्रेन्डसिप’ संयुक्त सैन्य अभ्यासको छैटौँ संस्करणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।
नेपाल र चीनबीचको मैत्रीपूर्ण तथा परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने दृष्टिले प्रधानसेनापतिको यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अवसरका रूपमा समेत सिग्देलको फोरम सहभागितालाई लिइएको छ।
गत वर्ष १२औँ बेइजिङ सिसियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति सिग्देललाई निमन्त्रणा प्राप्त भएको थियो। तर नेपालमा उत्पन्न ‘जेनजी आन्दोलन’का कारण अन्तिम समयमा उहाँको चीन भ्रमण रद्द भएको थियो।
यसपटक भने प्रधानसेनापति सिग्देलले चीनमा उच्चस्तरीय सैन्य नेतृत्वसँग प्रत्यक्ष संवाद गर्दै दुई देशबीचको रक्षा तथा सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुहुनेछ।
प्रधानसेनापति सिग्देल असोज ३ गते अर्थात् सेप्टेम्बर १९ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
द टन न्युज
Accuracy, Balance and Credibility