भावी प्रधानमन्त्रीका उम्मेदवारहरूलाई खुला बहसका लागि टिकाराम यात्रीको हार्दिक आह्वान
काठमाडौं । वरिष्ठ पत्रकार टीकाराम यात्रीले देशको भावी नेतृत्व र दिशानिर्देशनका विषयमा खुला र स्वस्थ बहसको आवश्यकतामाथि जोड दिँदै तीन प्रमुख दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई औपचारिक बहसका लागि सार्वजनिक आह्वान गर्नुभएको छ।
नेपाली काङ्ग्रेसका तर्फबाट गगनकुमार थापा, नेकपा एमालेका तर्फबाट केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएको सन्दर्भमा, उनीहरूलाई देश निर्माणका लागि ठोस नीति, योजना र कार्यक्रमसहित साझा मञ्चमा उपस्थित भई बहस गर्न पत्रकार यात्रीले आग्रह गर्नुभएको हो।
उहाँले खुला र स्वस्थ बहसले मतदातालाई पात्र छनौट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, लोकतान्त्रिक मूल्य र पारदर्शिताको अभ्यासका रूपमा यो आह्वानलाई सकारात्मक रूपमा ग्रहण गरिने अपेक्षा गर्नुभएको छ।
“खुला हृदयका साथ यो आग्रह स्वीकार गरी देश र जनताका लागि आफ्ना दृष्टिकोण स्पष्ट पार्नु लोकतन्त्रको सुन्दर अभ्यास हो,” पत्रकार यात्रीले उल्लेख गर्नुभएको छ।
राजनीतिक दलहरूबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा यो आह्वानलाई नेपाली राजनीतिमा नीतिगत बहसलाई केन्द्रमा ल्याउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।