न्यूयोर्कमा युवा अभियन्ता अरुण दाहाल खत्री : कूटनीति, अर्थतन्त्र र विश्व राजनीतिबारे गहन संवाद

theoutsidenepal.com

न्यूयोर्कमा युवा अभियन्ता अरुण दाहाल खत्री : कूटनीति, अर्थतन्त्र र विश्व राजनीतिबारे गहन संवाद

द टन न्युज । न्यूयोर्क ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका कारण अहिले न्यूयोर्क विश्व राजनीति, अन्तर्राष्ट्रिय कूटनीति र नीति निर्माणको प्रमुख केन्द्र बनेको छ। विश्वका विभिन्न देशका नेतृत्व, नीति निर्माता तथा प्रतिनिधिहरूबीच भइरहेका संवाद र छलफलले अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ आयामबारे बहसलाई थप तीव्र बनाएको छ।

यही परिवेशमा युवा अभियन्ता अरुण दाहाल खत्री विगत दुई दिनदेखि न्यूयोर्कमा रहेर अन्तर्राष्ट्रिय कूटनीति, अर्थतन्त्र तथा विश्वका बदलिँदा प्राथमिकतासम्बन्धी विभिन्न छलफलमा सहभागी भइरहेका छन्।

खत्रीले आफ्नो अनुभव सार्वजनिक गर्दै कुनै पनि देशको महत्वपूर्ण मेरुदण्डमध्ये कूटनीतिक सम्बन्ध एक भएको उल्लेख गरेका छन्। उनका अनुसार बदलिँदो विश्व परिवेशमा कूटनीतिलाई राजनीतिक सम्बन्धमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि, विकास र समग्र अर्थतन्त्रसँग जोडेर अघि बढाउन आवश्यक छ।

बलियो कूटनीतिक सम्बन्धले आर्थिक अवसरका ढोका खोल्न सक्ने र बलियो अर्थतन्त्रले देशको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्ने उनको बुझाइ छ।

खत्रीका अनुसार न्यूयोर्क बसाइका क्रममा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन, बंगलादेशका अर्थशास्त्री तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस लगायत विभिन्न देशका प्रतिनिधिहरूसँग भेटघाट तथा संवाद गर्ने अवसर प्राप्त भएको छ।

फरक देश, अनुभव र दृष्टिकोण भएका व्यक्तिहरूसँगको प्रत्यक्ष संवादले विश्व राजनीति र कूटनीतिलाई बुझ्ने आफ्नो दृष्टिकोण अझ फराकिलो बनाएको खत्रीले बताएका छन्।

उनले न्यूयोर्कका पछिल्ला दिनहरूलाई केवल भेटघाट र औपचारिक कार्यक्रमका रूपमा नभई सिक्ने, सुन्ने र नेपालले अन्तर्राष्ट्रिय कूटनीति तथा आर्थिक अवसरलाई कसरी प्रभावकारी रूपमा जोड्न सक्छ भन्नेबारे सोच्ने अवसरका रूपमा लिएको बताएका छन्।

खत्रीको भनाइमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई आर्थिक कूटनीतिसँग जोड्दै व्यापार, लगानी, प्रविधि र विकासका अवसर विस्तार गर्न सके विश्वमञ्चमा नेपालको भूमिका थप प्रभावकारी बनाउन सकिने सम्भावना छ।


प्रतिक्रिया