नेपाली कांग्रेस गोदावरी नगर सभापतिमा रविन्द्र शाही ‘गुड्डु’ निर्विरोध
धनगढी । नेपाली कांग्रेस कैलालीको गोदावरी नगर कार्यसमितिको सभापतिमा रविन्द्र शाही ‘गुड्डु’ निर्विरोध चयन भएका छन्। गोदावरी नगरपालिका–१० का वडाध्यक्षसमेत रहेका शाही नगर अधिवेशनबाट सभापतिमा निर्विरोध चयन भएका हुन्।
नगर कार्यसमितिको उपसभापतिमा मिना जोशी र धनबहादुर खत्री चयन भएका छन्। त्यस्तै, सचिवमा बमबहादुर बोगटी तथा सहसचिवमा नवराज ओझा चयन भएका छन्।
अधिवेशनबाट नगर कार्यसमितिका २९ जना सदस्यसमेत चयन भएका छन् भने दुई जना जिल्ला सदस्य चयन भएको जनाइएको छ।
नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिको अधिवेशन आज सम्पन्न भएको हो। अधिवेशन सम्पन्न भएसँगै कांग्रेस कैलाली क्षेत्र नम्बर ४ अन्तर्गतका ३० वटै वडा अधिवेशन पनि सम्पन्न भएको बताइएको छ।
शाहीको निर्विरोध चयनसँगै गोदावरी नगर कांग्रेसले नयाँ नेतृत्वमा संगठन विस्तार, पार्टीका आगामी गतिविधि तथा स्थानीय तहमा संगठनलाई थप सक्रिय बनाउने कार्य अघि बढाउने जनाएको छ।