काठमाडौं — प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन आजदेखि नेपाली सेना परिचालन हुँदैछ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै नेपाली सेनाको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुन लागेका हुन्।
नेपाली सेनाका अनुसार निर्वाचन प्रयोजनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा सेना खटाइनेछ। एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ (म्यादी) पनि सुरक्षामा परिचालन गरिनेछ।
निर्वाचन आयोगका अनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाल र बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ।
गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए। सोही निर्णयअनुसार निर्वाचनको एक महिना अघिदेखि फिल्डमा सेना परिचालन हुन लागेको हो। सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ।
निर्वाचनपूर्व तथा निर्वाचन अवधिमा नेपाली सेनाले मतपत्र छपाइ, मतपत्र ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ।
निर्वाचन आयोगका अनुसार देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।