शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचन नलड्ने, कांग्रेसमा उम्मेदवार चयनमा नयाँ मोड
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। देउवाको निजी सचिवालयले औपचारिक रूपमा उनी निर्वाचन नलड्ने जानकारी गराएको हो।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, “शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।” २०४८ सालदेखि डडेल्धुरा निर्वाचन क्षेत्रबाट निरन्तर उम्मेदवार बनेर प्रत्येक निर्वाचन जित्दै आएका देउवाले यसपटक चुनावी प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका हुन्।
पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले देउवालाई यसपटक निर्वाचन नलड्न आग्रह गरेका थिए। यसअघि देउवाले अन्तिम पटक निर्वाचन लड्ने संकेत गरेका थिए। तर, नयाँ केन्द्रीय कार्यसमितिको वैधतामाथि प्रश्न उठाउँदै देउवा समूहले अदालतमा रिट दायर गरेको पृष्ठभूमिमा, उम्मेदवारी दर्ता हुनुअघि नै देउवाले चुनाव नलड्ने निर्णय सार्वजनिक भएको हो।
यसैबीच, नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा. आरजु राणालाई पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने निर्णय गरेको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. राणाको नाम सिफारिस भए पनि अन्ततः कांग्रेसले नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।
कांग्रेसबाट कैलाली–५ मा नरनारायण शाहसहित डा. आरजु राणा, डिल्लीराम पन्त र नृपबहादुर ओडको नाम सिफारिस गरिएको थियो। पार्टी सभापति गगनकुमार थापाले सबै सिफारिस भएका उम्मेदवारलाई पछि राख्दै शाहलाई टिकट दिएका हुन्।
देउवाको चुनावी राजनीतिबाट अलग हुने निर्णय र कांग्रेसको उम्मेदवार चयन प्रक्रियाले पार्टीभित्र नेतृत्व हस्तान्तरण र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको विश्लेषकहरू बताउँछन्।