लैनचौरमा नयाँ हिमालयन जाभा : रोजिना प्रधान राईको लगानीमा ८१औँ आउटलेट सञ्चालन

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले राजधानीको लैनचौरमा हिमालयन जाभा कफीको नयाँ आउटलेट सञ्चालनमा ल्याएकी छन्।


शुक्रबार आयोजित उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत रब फेनले उक्त आउटलेटको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष हेमराज शर्मा लगायत एनआरएनए अभियन्ता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


होटल मल्लको परिसरमा सञ्चालनमा आएको यो आउटलेटले सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै राईले उत्साह व्यक्त गरिन्। हिमालयन जाभा अन्तर्राष्ट्रियस्तरमा फैलिएको नेपाली फ्रेन्चाइज कफी ब्रान्ड भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको शाखा अन्य स्थानहरूमा पनि विस्तार गर्ने लक्ष्य रहेको बताइन्।


लैनचौरको हिमालयन जाभामा करिब ५ करोड रुपैयाँ लगानी भएको जनाइएको छ। राईको नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा व्यवसायिक संलग्नता रहेको छ।


लैनचौर आउटलेट सञ्चालनमा आएसँगै हिमालयन जाभाको कुल आउटलेट संख्या ८१ पुगेको छ। झण्डै दुई दशकअघि ठमेलको त्रिदेवी मार्गबाट सुरु भएको हिमालयन जाभा आज नेपाली कफी संस्कृतिको पहिचान बनिसकेको छ। 


प्रतिक्रिया