नवलपरासी (पूर्व) । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र र बाहिर उठेका सबै प्रश्नको जवाफ दिने जिम्मेवारी अब एमालेको काँधमा आएको बताएका छन्।
आइतबार पूर्वी नवलपरासीको दलदलेमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले नेतृत्वका केही गल्तीका कारण देश छिट्टै निर्वाचनतर्फ धकेलिन पुगेको स्वीकार गरे। उनले कार्यकर्तामाझ आत्मालोचनासहित भने, “एमालेबाट गल्ती भएको छ। त्यसका लागि हामी तपाईंहरूसँग क्षमा चाहन्छौँ। हाम्रा बारेमा थुप्रै प्रश्न उठेका छन्, ती सबै प्रश्नको जवाफ दिन एमाले अब तत्पर हुनुपर्छ।”
उनले पार्टीविरुद्ध फैलाइएका भ्रम र गलत प्रचारलाई चिरेर जनताको बीचमा स्पष्ट र जिम्मेवार राजनीतिको अभ्यास अघि बढाउनुपर्ने बेला आएको उल्लेख गरे। कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जाने र पार्टीको धारणा स्पष्ट रूपमा राख्न आग्रहसमेत गरे।
कार्यक्रममा आगामी निर्वाचनका सन्दर्भमा उम्मेदवारीको विषयमा पनि जानकारी दिँदै उनले पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ बाट एमालेले भागिरथ सापकोटालाई उम्मेदवार बनाएको बताए।