द टन न्युज ॥ विशेष रिपोर्ट
कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले भाग लिने
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान बिहीबार बिहान १० बजेदेखि सुरु हुने भएको छ। मतदानमा देश तथा विदेशबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
मतदानलाई व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन समितिले काठमाडौंका विभिन्न तीन स्थानमा सातवटा मतदान केन्द्र तोकेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान भवनमा मतदानको व्यवस्था मिलाइएको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।
त्यस्तै, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।
यसैगरी, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको आगामी नेतृत्व चयन हुने भएकाले मतदानलाई विशेष महत्त्वका साथ हेरिएको छ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको राजनीतिक भविष्य निर्धारण गर्ने यो मतदान कांग्रेसको संगठनात्मक दिशा र आगामी राजनीतिक यात्राका दृष्टिले समेत निर्णायक बन्ने अपेक्षा गरिएको छ।