हिमालय जोगाउन ‘ओजोनदेखि जलवायु संकटसम्म’ एकीकृत पहलको माग, सरकारदेखि विश्व समुदायलाई SOHF नेपालको ३ बुँदे आह्वान
द टन न्युज । काठमाडौं ।
हिमालयको तीव्र गतिमा भइरहेको वातावरणीय तथा जलवायु परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सेभ आवर हिमालय फर्स्ट (SOHF) नेपालले हिमालयलाई केन्द्रमा राखेर तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ।
अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस सेप्टेम्बर १६ को अवसरमा SOHF नेपालले जारी गरेको प्रेस नोटमा “Ozone Protection is Himalaya Protection” अर्थात् ओजोनको संरक्षण नै हिमालयको संरक्षण भएको सन्देश अघि सारिएको छ। संस्थाले हिमालय अहिले ओजोन तथा जलवायु संकटको अग्रपंक्तिमा रहेको भन्दै हिमाली क्षेत्रलाई विश्वव्यापी वातावरणीय बहसको केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ।
संस्थाका अनुसार ओजोन तहलाई क्षति पुर्याउने पदार्थको प्रयोग नियन्त्रणमा विश्वले उल्लेखनीय प्रगति गरे पनि हिमालय क्षेत्रमा ब्ल्याक कार्बन, मिथेन तथा जमिन सतहको ओजोन निर्माणमा योगदान गर्ने प्रदूषक लगायतका जलवायु कारकले हिमनदी पग्लिने क्रम, मनसुनको स्वरूप र उच्च हिमाली क्षेत्रमा पराबैंगनी विकिरणको जोखिम बढाउन योगदान गरिरहेका छन्। यसको असर मुस्ताङ, मुक्तिनाथदेखि सगरमाथा क्षेत्रसम्मका संवेदनशील हिमाली भूभागमा देखिन सक्ने संस्थाको भनाइ छ।
SOHF नेपालले हिमालयलाई ‘थर्ड पोल’ अर्थात् ध्रुवीय क्षेत्रबाहिरको महत्वपूर्ण हिमक्षेत्रका रूपमा उल्लेख गर्दै हिमालयमा देखिने वातावरणीय परिवर्तन हिमालयमै सीमित नहुने जनाएको छ। हिमनदी र हिमाली जलस्रोतमा आउने परिवर्तनले ठूलो जनसंख्याको पानीको सुरक्षा, जैविक विविधता, कृषि, पर्यटन तथा सांस्कृतिक सम्पदामा समेत प्रत्यक्ष प्रभाव पार्ने संस्थाको दाबी छ। पछिल्ला वैज्ञानिक अध्ययनहरूले पनि हिमालयमा हिमनदी पग्लिने गति बढ्दै गएको र यसले दीर्घकालीन जलसुरक्षामा जोखिम बढाइरहेको देखाएका छन्।
नेपालको विश्वव्यापी उत्सर्जनमा योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको असर भने अनुपातभन्दा निकै ठूलो रूपमा भोगिरहेको SOHF नेपालको प्रेस नोटमा उल्लेख छ। यही कारण नेपालले जलवायु न्याय, क्षतिपूर्ति, अनुसन्धान र अन्तर्राष्ट्रिय जलवायु वित्तका विषयलाई अझ सशक्त रूपमा उठाउनुपर्ने संस्थाको जोड छ। नेपालले पछिल्लो समय हिमाली जलवायु जोखिम र जलवायुजन्य क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रतिबद्धता पनि जनाएको छ।
सरकारलाई तत्काल कदम चाल्न आग्रह
SOHF नेपालले नेपाल सरकारसमक्ष उच्च हिमाली क्षेत्रमा रहेका मौसम केन्द्रहरूमा ओजोन तथा Short-Lived Climate Pollutants (SLCPs) को नियमित अनुगमन र तथ्यांक संकलन गर्न माग गरेको छ। साथै उच्च GWP भएका HFCs नियन्त्रणका लागि किगाली संशोधनअनुसार स्पष्ट कार्ययोजना बनाउन पनि आग्रह गरिएको छ।
त्यस्तै, युवा तथा स्थानीय समुदायलाई दिगो हिमाली पर्यटनतर्फ अघि बढाउँदै एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग घटाउने, स्वच्छ खाना पकाउने प्रविधिको विस्तार गर्ने तथा ब्ल्याक कार्बन उत्सर्जन कम गर्ने अभियान सञ्चालन गर्न संस्थाले आह्वान गरेको छ।
अन्तर्राष्ट्रिय समुदायलाई भने हिमालयलाई विश्वव्यापी जलवायु जोखिम क्षेत्रका रूपमा स्वीकार गर्दै नेपालमा ओजोन, हिमनदी तथा क्रायोस्फियरसम्बन्धी वैज्ञानिक अनुसन्धानका लागि पर्याप्त अन्तर्राष्ट्रिय जलवायु वित्त उपलब्ध गराउन माग गरिएको छ।
विश्व ओजोन दिवसकै अवसरमा मुस्ताङमा सम्पन्न जलवायु सम्मेलनले पनि हिमालय संरक्षण, जलवायु न्याय र अन्तर्राष्ट्रिय लगानी बढाउन २१ बुँदे घोषणापत्र जारी गरेको छ।
SOHF नेपालका अध्यक्ष डी.बी. नेपालीद्वारा जारी प्रेस नोटले स्पष्ट सन्देश दिएको छ—हिमालयको संकट केवल नेपालको समस्या होइन, यो दक्षिण एसियाको जलसुरक्षा र भविष्यसँग जोडिएको विश्वव्यापी मुद्दा हो।
“Save our Himalaya for Climate Justice” भन्ने आह्वानसहित संस्थाले हिमालय संरक्षणका लागि स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म समन्वित र तत्कालीन कदम आवश्यक रहेको जनाएको छ।