७ घण्टाको कठिन यात्रा पार गर्दै निसीखोलाका ६८ परिवारलाई एनआरएनएको राहत, विपद्मा मानवीय सेवाको उदाहरण

theoutsidenepal.com

द टन न्युज ॥ विशेष रिपोर्ट

७ घण्टाको कठिन यात्रा पार गर्दै निसीखोलाका ६८ परिवारलाई एनआरएनएको राहत, विपद्मा मानवीय सेवाको उदाहरण

बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङको निसीखोला जाने सडक अवरुद्ध भएपछि प्रभावित परिवारसम्म राहत पुर्‍याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कठिन भूगोल र जोखिमपूर्ण यात्राको सामना गर्दै मानवीय सेवाको अभियानलाई निरन्तरता दिएको छ।

सडक अवरुद्ध भएपछि राहत टोलीले बुटवल हुँदै पाल्पा–रिडी–वामीटक्सार–बुर्तिबाङ हुँदै करिब ७ घण्टाको वैकल्पिक यात्रा पार गरेर निसीखोला पुग्दै बाढी तथा पहिरो प्रभावित ६८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो।


एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज गोर्खालीको नेतृत्वमा भएको राहत अभियानमा संघका प्रवक्ता सोम सापकोटा र सम्बन्धित वडा अध्यक्ष सूर्यबहादुर घर्तीको समन्वय रहेको जनाइएको छ।


भौगोलिक कठिनाइ, सडक अवरोध र लामो दूरीका बाबजुद प्रभावित नागरिकको घरदैलोमै राहत पुर्‍याइएको घटनाले विपद्का बेला मानवीय सहयोगको महत्वलाई थप उजागर गरेको छ।

प्रत्येक परिवारलाई आवश्यक खाद्यान्नदेखि अस्थायी बसोबाससम्मको सामग्री

एनआरएनएले राहतस्वरूप प्रत्येक १ परिवारलाई तत्कालीन आवश्यकता सम्बोधन हुने गरी खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा अस्थायी बसोबासका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ।


प्रत्येक परिवारलाई वितरण गरिएको राहत प्याकेजमा—

  • त्रिपाल – १ थान (१२×१५)
  • म्याट – १ थान
  • ब्ल्याङ्केट – १ थान
  • सामान राख्ने बाल्टिन – १ थान
  • सानो मख – १ थान
  • चामल – २५ केजी
  • दाल – ५ केजी
  • खाने तेल – २ लिटर
  • नुन – २ केजी
  • मसला – आधा केजी
  • दैनिक उपभोग्य सामग्रीको किट – साबुन, मञ्जन र ब्रस

रहेको छ।

राहत वितरणपछि प्रभावित परिवारले विपद्को कठिन अवस्थामा घरदैलोमै आवश्यक खाद्यान्न तथा अत्यावश्यक सामग्री प्राप्त हुँदा केही राहत महसुस गरेका छन्।


एनआरएनएले विपद्का बेला विदेशमा रहेका नेपाली तथा संघसंस्थाबाट जुटेको सहयोगलाई प्रभावित समुदायसम्म पुर्‍याउने अभियानलाई प्राथमिकतामा राख्दै आएको छ। निसीखोलामा गरिएको राहत वितरण पनि ‘जहाँ समस्या, त्यहाँ सहयोग’ भन्ने मानवीय भावनासहितको अभियानका रूपमा प्रस्तुत गरिएको छ।


विपद्को समयमा सडक, दूरी र भौगोलिक कठिनाइलाई चुनौती दिँदै प्रभावित नागरिकसम्म राहत पुर्‍याउन गरिएको यो प्रयासले नेपालमा रहेका नागरिक र विश्वभर छरिएका नेपालीबीचको मानवीय सम्बन्धलाई थप मजबुत बनाएको एनआरएनएले जनाएको छ।


प्रतिक्रिया