कञ्चनपुर । आउँदो प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिस्ट पार्टी (चुनाव चिन्ह–तारा) की युवा नेतृ बिना मगरको चुनावी माहोल उल्लेखनीय रूपमा तातेको छ। गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै उनी विकास, परिवर्तन र समृद्धिको एजेन्डासहित मतदातामाझ सक्रिय देखिएकी छन्।
दशक लामो जनयुद्धको दौरानमा अग्रपंक्तिमा रहेर महत्वपूर्ण योगदान पुर्याएकी मगरलाई क्रान्तिको एक सशक्त नारी पात्रका रूपमा हेरिन्छ। संघर्ष, त्याग र नेतृत्व क्षमताले चिनिएकी उनी आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेकी समर्थकहरूको भनाइ छ। महिलाको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई निरन्तर उठाउँदै आएकी मगरले राजनीतिमा नारी नेतृत्वलाई सशक्त बनाउने अभियान अघि बढाएको बताइन्छ।
चुनावी अभियानका क्रममा मगरले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै मतदाताले सकारात्मक प्रतिक्रिया दिएको उनको चुनावी टोलीले जनाएको छ। विशेषगरी युवा पुस्ता र महिलाहरूको उल्लेखनीय साथ पाइरहेको भन्दै समर्थकहरू उत्साहित देखिएका छन्।
स्थानीयस्तरमा आयोजना गरिएका सभा–सम्मेलन, घरदैलो कार्यक्रम र जनभेटघाटमा नागरिकको बाक्लो सहभागिताले कञ्चनपुर–१ मा मगरप्रतिको समर्थन बलियो बन्दै गएको विश्लेषण भइरहेको छ। जनताको आशा र भरोसालाई केन्द्रमा राखेर अघि बढेकी मगरले समृद्ध क्षेत्र निर्माण गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार युवा ऊर्जा, लामो राजनीतिक अनुभव र जनस्तरको पहुँचका कारण बिना मगर यस क्षेत्रकी बलिया प्रतिस्पर्धीका रूपमा उदाउँदै गएकी छन्। आगामी निर्वाचनमा उनको पक्षमा देखिएको उत्साहले कञ्चनपुर–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।