काठमाडौं । बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावुक श्रद्धाञ्जली अर्पण गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले सुनिल थापालाई आफ्नो जीवनका कठिन क्षणहरूमा साथ दिने ‘कोच’ र प्रेरणादायी व्यक्तित्वका रूपमा सम्झिएकी हुन्।
प्रियंका चोपडाले आफ्नो बुबाको निधनपछि आफू निकै कमजोर अवस्थामा हुँदा सुनिल थापाले साथ दिएको, माया र हौसला प्रदान गरेको उल्लेख गरेकी छन्। “तपाईं सधैं मेरा कोच रहनुहुनेछ। जब मैले बाबालाई गुमाएँ, तपाईंले मलाई सम्हाल्नुभयो। तपाईंको न्यानो अँगालो र हाँसो सधैं मेरो सम्झनामा रहनेछ,” उनले लेखेकी छन्।
उनले सुनिल थापा निकै कम उमेरमै संसारबाट बिदा भएको उल्लेख गर्दै उनको योगदान र सम्झना सधैं जीवित रहने बताइन्। साथै उनले शोकसन्तप्त परिवार र आफन्तजनप्रति समवेदना तथा प्रार्थना व्यक्त गरेकी छन्।
नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा योगदान दिएका सुनिल थापाको निधनले कला क्षेत्र शोकमा डुबेको छ भने विभिन्न कलाकार तथा व्यक्तित्वहरूले निरन्तर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।