नेपाली चलचित्र जगतका वरिष्ठ तथा बहुआयामिक कलाकार सुनिल थापाको निधनप्रति विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त भइरहेका बेला अमेरिकाको क्यालिफोर्नियामा सक्रिय युवा व्यवसायी प्रिन्स युवराज कार्कीले पनि भावुक स्टाटसमार्फत श्रद्धासुमन अर्पण गरेका छन्। उनले नेपाली सिने आकाशको एक चम्किलो नक्षत्र अस्ताएको भन्दै सुनिल थापाको योगदानलाई सदैव स्मरणीय रहने बताएका छन्।
कार्कीले आफ्नो स्टाटसमार्फत कलाकार थापाले अभिनयमार्फत सिर्जना गरेका अविस्मरणीय पात्र र चलचित्रहरूले उनलाई सधैं दर्शकको मनमा जीवित राख्ने उल्लेख गरेका छन्। “एक सच्चा कलाकार कहिल्यै मर्दैन,” भन्दै उनले नेपाली चलचित्र क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताएका छन्।
साथै, उनले क्यालिफोर्नियास्थित काफल रेस्टुरा तथा एवरेस्ट कुजिन परिवारसँग जोडिएको एउटा विशेष सम्झना पनि सार्वजनिक गरेका छन्। सन् २०१५ तिर सान फ्रान्सिस्कोमा काफल रेस्टुराको उद्घाटनका क्रममा सुनिल थापा प्रमुख अतिथिका रूपमा उपस्थित भई रिबन काटेर उद्घाटन गरेको स्मरण गर्दै उनले त्यो अविस्मरणीय क्षण आज पनि ताजै रहेको उल्लेख गरेका छन्। उक्त कार्यक्रममा सुनिल थापासहित १२–१३ जना प्रतिष्ठित कलाकारहरूले टिमलाई शुभकामना दिएको उनले बताएका छन्।
स्वर्गीय सुनिल थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै काफल रेस्टुरा तथा एवरेस्ट कुजिन परिवार, अमेरिकाले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको कार्कीले बताएका छन्।