महानायक राजेश हमाललाई क्रिकेट प्रशिक्षक अनिल अधिकारीको विशेष प्रस्ताव : ‘३ दिन जिम्मा दिनुस्, प्रविधिमा सुधार ल्याइदिन्छु’
काठमाडौं — नेपाली क्रिकेटले विश्वमञ्चमा आफ्नो पहिचान बलियो बनाउँदै लगिरहेका बेला नेपाली चलचित्रका महानायक राजेश हमाल पनि क्रिकेटप्रति आकर्षित देखिएका छन्। तर, महानायकले क्रिकेट ब्याट समातेको दृश्य देखेपछि राष्ट्रिय क्रिकेट प्रशिक्षक तथा नेपाल क्रिकेट संघ (CAN) बागमती प्रदेशका क्रिकेट निर्देशक अनिल अधिकारीले भने उनलाई ‘विशेष क्रिकेट प्रशिक्षण’ को प्रस्ताव नै अघि सारेका छन्।
क्रिकेट प्रशिक्षण केन्द्रको उद्घाटन कार्यक्रममा महानायक हमालले ब्याटिङ सट खेलेको दृश्य हेरेपछि प्रशिक्षक अधिकारीले सामाजिक सञ्जालमार्फत रमाइलो शैलीमा तर प्राविधिक सुझावसहित उनलाई प्रशिक्षण लिन आग्रह गरेका हुन्।
अधिकारीका अनुसार हमालको Stance, Backlift, Foot Movement र Head Position लगायतका आधारभूत प्राविधिक पक्षमा अझ सुधारको आवश्यकता देखिएको छ। अभिनयमा आफ्नो छुट्टै पहिचान बनाएका महानायकले क्रिकेटमा पनि आधारभूत सीप र सही प्रविधि आत्मसात् गर्नुपर्ने उनको भनाइ छ।
अधिकारीले अझ रोचक ढंगले भनेका छन्, ‘मलाई तीन दिन जिम्मा दिनुस्, राजेश दाइका यी सबै पक्षमा सुधार ल्याइदिन्छु।’ आफूले छोटो अवधिमै महानायकको क्रिकेटिङ प्रविधिमा सकारात्मक परिवर्तन ल्याउन सक्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन्।
‘क्रिकेट खेल्न रहर भएर मात्र हुँदैन, सही स्टान्स र टेक्निकबाट सुरु गर्नुपर्छ,’ अधिकारीको भनाइ छ।
नेपालले दुईपटक विश्वकप क्रिकेट खेलिसकेको स्मरण गर्दै अधिकारीले देशका महानायकले पनि क्रिकेटको सामान्य ज्ञान र आधारभूत सीप बुझ्नु आवश्यक रहेको संकेत गरेका छन्। महानायकको क्रिकेटप्रतिको रुचिलाई सकारात्मक रूपमा लिँदै उनले खेललाई बुझ्न र प्रविधिसहित खेल्न आग्रह गरेका छन्।
अधिकारीको यो प्रस्ताव भने गम्भीर प्रशिक्षणको निम्तोभन्दा पनि महानायक हमालसँगको आत्मीयता र क्रिकेटप्रतिको प्रेम झल्काउने रमाइलो शैलीको चुनौतीका रूपमा आएको देखिन्छ।
अब प्रश्न उठेको छ—अभिनयमा दशकौँदेखि महानायकको उपाधि कमाएका राजेश हमाल क्रिकेटको मैदानमा पनि ‘महानायक’ बन्न प्रशिक्षक अनिल अधिकारीको तीनदिने चुनौती स्वीकार गर्लान् त?
अधिकारीको यो रोचक प्रस्तावले सामाजिक सञ्जालमा समेत क्रिकेटप्रेमी र राजेश हमालका प्रशंसकबीच रमाइलो बहस सिर्जना गर्ने देखिएको छ।
“क्रिकेट बुझौँ, खेललाई माया गरौँ—र महानायकलाई मैदानमा पनि महानायक बनाऔँ”