काठमाडौं । श्रम संस्कृति पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार समिर तामाङ्ले आसन्न टी–२० विश्वकप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै Top 8 मा स्थान बनाउन सके प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा तामाङ्ले नेपाल क्रिकेट टोलीप्रति हौसला बढाउने उद्देश्यले व्यक्तिगत तर्फबाट रु ४ लाख ७८ हजार प्रदान गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। उक्त रकम उनले आफ्ना स्वर्गीय पिता कान्छाराम तामाङ्को जन्मदिनको अवसर पारेर बाबाको नामबाट सम्मान पत्रसहित प्रदान गर्ने बताएका छन्।
“नेपालले टी–२० विश्वकपमा Top 8 यात्रा तय गर्न सकेमा मेरो व्यक्तिगत तर्फबाट प्रोत्साहनस्वरुप रु ४,७८,००० दिने निर्णय गरेको छु,” उनले स्टाटसमा लेखेका छन्।
तामाङ्ले खेलकुद क्षेत्रको विकास र राष्ट्रिय गौरव बढाउन यस्ता पहल आवश्यक रहेको पनि बताएका छन्। उनले स्टाटसको अन्त्यमा “जय माटो, जय श्रम संस्कृति पार्टी” भन्ने नारासमेत उल्लेख गरेका छन्।
उनको घोषणापछि सामाजिक सञ्जालमा नेपाली क्रिकेट टोलीप्रति थप उत्साह र समर्थन बढ्ने अपेक्षा गरिएको छ।