अमेरिकाको गोल्डेन गेट युनिभर्सिटी (GGU) वर्ल्डवाइडको DBA कार्यक्रमको नेतृत्वमा डा. राजन थपलिया नियुक्त

theoutsidenepal.com

स्यान फ्रान्सिस्कोस्थित प्रतिष्ठित Golden Gate University (GGU) अन्तर्गतको GGU Worldwide मा ‘डिजिटल र कम्प्युटर विज्ञान DBA (Doctor of Business Administration)’ कार्यक्रमको अध्यक्ष तथा सह-अध्यक्ष (Doctoral Program Chair) पदमा अमेरिकी–नेपाली प्रोफेसर डा. राजन थपलिया नियुक्त भएका छन्।


यस महत्वपूर्ण शैक्षिक नेतृत्व भूमिकामा नियुक्त भएसँगै डा. थपलियालाई स्वदेश तथा विदेशका शुभचिन्तकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। डिजिटल शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा दिगो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


डा. थपलियाले आफ्नो स्टाटसमार्फत भनाइ राख्दै भनेका छन्,


“GGU Worldwide अन्तर्गत Digital and Computer Science DBA का लागि Chair तथा Co-Chair (Doctoral Program Chair) को रूपमा नियुक्त हुन पाउँदा अत्यन्तै सम्मानित महसुस गरिरहेको छु। यो वरिष्ठ शैक्षिक नेतृत्व भूमिकामा सेवा गर्ने अवसर पाउँदा आभारी छु।”


सन् १९०१ मा स्थापना भएको गोल्डेन गेट युनिभर्सिटीले १२० वर्षभन्दा लामो शैक्षिक विरासत बोकेको छ। विश्वविद्यालयले एसिया, युरोप, अफ्रिका र उत्तर अमेरिकाका ५० भन्दा बढी देशका विद्यार्थीहरूलाई सेवा दिँदै आएको छ। यसको मुख्य क्याम्पस स्यान फ्रान्सिस्को मा अवस्थित छ भने सियाटल, सिलिकन भ्याली र लस एन्जलस मा पनि भौतिक शाखाहरू रहेका छन्।


GGU Worldwide ले चारवटा विश्वव्यापी वितरण साझेदार र २२ वटा विश्वविद्यालयहरूसँगको सहकार्य मार्फत आफ्नो अन्तर्राष्ट्रिय पहुँचलाई थप विस्तार गरेको छ। यसले विश्वव्यापी शिक्षा, नवप्रवर्तन (innovation) र शैक्षिक उत्कृष्टताप्रतिको विश्वविद्यालयको प्रतिबद्धतालाई प्रस्ट पार्दछ।


डा. राजन थपलियाको यो नियुक्तिलाई नेपाली शैक्षिक समुदायका लागि गर्वको विषयका रूपमा हेरिएको छ। उनका नेतृत्वमा डिजिटल र कम्प्युटर विज्ञान DBA कार्यक्रम अझ सुदृढ हुँदै अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया