अछाम – अछाम निर्वाचन क्षेत्र नं. २ मा राजनीतिक सहकार्यको महत्वपूर्ण सन्देश देखिएको छ। भुपदेव शाह ले उज्यालो नेपालका उम्मेदवार राजेश रावल ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफूलाई दिएको पूर्ण समर्थनप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा शाहले लोकतन्त्रको आत्मा सहकार्य, सहमति र साझा उद्देश्य भएको उल्लेख गर्दै यो समर्थन व्यक्तिगत सहमति मात्र नभई अछामको भविष्यका लागि गरिएको राजनीतिक प्रतिबद्धता भएको बताएका छन्।
उनका अनुसार दुवै पक्षबीच अछामको समग्र विकासलाई केन्द्रमा राखेर स्पष्ट एजेन्डामा सहमति भएको छ। ती एजेन्डामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता आधारभूत पूर्वाधारको विस्तार, युवाका लागि रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, कृषि तथा स्थानीय उत्पादनको संरक्षण र विकट बस्तीहरूसम्म राज्यको प्रभावकारी पहुँच सुनिश्चित गर्ने विषयहरू समेटिएका छन्।
शाहले राजेश रावलले उठाएका मूल मुद्दाहरू अब आफ्नो मात्र नभई साझा प्रतिबद्धता बनेको उल्लेख गर्दै ती एजेन्डालाई सार्वजनिक वाचाका रूपमा कार्यान्वयनमा लैजाने दृढता व्यक्त गरेका छन्।
निर्वाचनपछि पनि अछामको समृद्धि, पारदर्शी शासन प्रणाली र दिगो विकासका लागि निरन्तर सहकार्य गर्ने अठोट दोहोर्याउँदै शाहले “जय देश, जय अछाम, जय घण्टी” नारासहित मतदातासँग समर्थनको अपिल गरेका छन्।
अछाम–२ मा विकसित यो सहकार्यले चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएको विश्लेषण गरिएको छ।