जापानका लागि राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले लिए नाम फिर्ता, भने– राष्ट्रिय हित र नैतिक निष्ठा पदभन्दा माथि
द टन न्युज | विशेष रिपोर्ट
नेपाल सरकारको मन्त्रिपरिषद्बाट जापानका लागि नेपालको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले आफ्नो नाम ससम्मान फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ प्रक्रियाका क्रममा उठेका विषयहरूलाई ध्यानमा राख्दै लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई सम्मान गरेर आफूले नाम फिर्ता लिने निर्णय गरेको थापाले सार्वजनिक गरेका छन्।
उनले आफ्नो नियुक्तिमा कानुनी रूपमा कुनै बाधा नरहेको स्पष्ट पार्दै कुनै पनि पदभन्दा राष्ट्रिय हित र नैतिक निष्ठा माथि हुने विश्वास व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस अवधिमा आफ्नो पक्षमा बोल्ने, लेख्ने तथा फोन र सन्देशमार्फत हौसला प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
‘जुनसुकै देशमा भए पनि राजदूत बन्नुपर्छ भन्ने मेरो चाहना होइन’
थापाले आफूलाई अर्को कुनै देशको राजदूत बनाउने विषयमा समाचारहरू सार्वजनिक भए पनि त्यस्तो कुनै सहमति वा समझदारी नभएको स्पष्ट पारेका छन्।
जापानसँगको लामो अनुभव र सम्बन्धका आधारमा त्यहाँ नेपालको प्रतिनिधित्व गर्दै योगदान गर्न सक्ने विश्वासका साथ आफूले राजदूत पदका लागि आवेदन दिएको उनको भनाइ छ।
यसैबीच, आफ्नो सिफारिसलाई विभिन्न व्यक्तित्वसँग जोडेर सार्वजनिक भएका समाचार तथा टिप्पणीप्रति पनि उनले ध्यानाकर्षण भएको जनाएका छन्। व्यक्तिगत सम्बन्धको अनुचित लाभ लिएर राजदूतमा सिफारिस भएको भन्ने आशयका टिप्पणीहरू पूर्णतः निराधार रहेको उनको स्पष्टोक्ति छ।
पदभन्दा माथि देश र जनताको सेवा
थापाले देश र जनताको सेवा गर्ने माध्यम पद मात्र नभएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र जापानबीचको ऐतिहासिक मित्रता, आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउन आफ्नो क्षमताले भ्याएसम्म योगदान गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजदूत नियुक्तिको प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिने निर्णयसँगै उनले सार्वजनिक गरेको धारणालाई पदभन्दा राष्ट्रिय हित, नैतिकता र संस्थागत मर्यादालाई प्राथमिकता दिने सन्देशका रूपमा हेरिएको छ।
अन्त्यमा उनले सम्पूर्ण शुभेच्छुकहरूको विश्वास, साथ र स्नेहलाई आत्मसात् गर्दै आगामी यात्रा पनि इमानदारीपूर्वक अघि बढाउने बताएका छन्।