कैलाली–४ मा कांग्रेस उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’को प्रचार तीव्र, चुनावी एजेन्डासहित पोस्टर सार्वजनिक

theoutsidenepal.com

कैलाली । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द) ले आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएका छन्। हालै सार्वजनिक गरिएको चुनावी पोस्टरमार्फत उनले उत्तरदायी नेतृत्व, जनताको पक्षमा काम, राष्ट्र पहिलो, पारदर्शिता, विकासको नयाँ दृष्टि र लोकतान्त्रिक मूल्यलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।


सार्वजनिक पोस्टरमा ‘AANAND’ शीर्षकसहित उम्मेदवार विष्टलाई राष्ट्रिय झण्डासहित नमस्कार मुद्रामा देखाइएको छ भने “रुखमा छाप, परिवर्तनको सुरुवात” भन्ने नारासहित मतदातासँग समर्थनको अपील गरिएको छ। प्रचार सामग्रीमा सुशासन, पारदर्शिता र विकासमुखी दृष्टिकोणलाई केन्द्रमा राखिएको देखिन्छ।


कांग्रेस स्रोतका अनुसार उम्मेदवार विष्टले क्षेत्रीय विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र जनसेवा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै घरदैलो र जनभेटघाट अभियानलाई तीव्र बनाएका छन्।


आगामी निर्वाचन नजिकिँदै जाँदा कैलाली–४ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा बढ्दै गएको छ भने उम्मेदवारहरूको घोषणापत्र, प्रचार सामग्री र सामाजिक सञ्जाल गतिविधिले चुनावी माहोल थप तातेको देखिएको छ।


प्रतिक्रिया