प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६ः३० बजे महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गर्नुभयो।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले नेपालप्रति महासचिव गुटेरेसले देखाउँदै आएको सद्भावका लागि धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। उहाँले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो।
भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माण लगायतका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नुपर्ने विषयमा संयुक्त राष्ट्रसंघको समर्थनबारे पनि कुराकानी भएको थियो।
द टन न्युज । न्यूयोर्क