विशेष महाधिवेशनबाट चयन भएका गगन थापाले ३ दिनभित्र आधिकारिकता पाउने विश्वास

theoutsidenepal.com

काठमाडौं — विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा चयन भएका गगन थापाले निर्वाचन आयोगले तीन दिनभित्र आफूहरूलाई आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन्। निर्वाचन आयोगमा अद्यावधिक विवरणसहित आधिकारिकताको दाबी गर्न पुगेका थापाले सबै आवश्यक कागजात बुझाइसकिएको जानकारी दिए।


“हामीले सम्पूर्ण कागजात बुझाएका छौँ। हामीले पर्सिभित्र आधिकारिकता पाउने विश्वास छ,” थापाले भने।


केन्द्रीय कार्यसमिति भंगको जानकारी आयोगलाई गराउँदै विशेष महाधिवेशन आयोजना गरिएको हुँदा आफूहरू नै आधिकारिक हुने थापाको दाबी छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दलको पदाधिकारी परिवर्तन भएमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। साथै, दलको चुनाव चिह्न र झन्डाको आधिकारिकतासम्बन्धी विवाद भएमा आयोगमार्फत समाधान खोजिनुपर्ने प्रावधान रहेको छ।


विशेष महाधिवेशन पक्षधर समूहले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले त्यसअघि नै विवाद टुंग्याइदिन आयोगलाई आग्रह गरिएको छ।


प्रतिक्रिया