कांग्रेसको केन्द्रीय सदस्यमा सरस्वती भट्टको सशक्त दाबी
महिला सशक्तीकरणदेखि संगठन रूपान्तरणसम्मको एजेन्डा, गगन थापालाई ‘हाम्रो लिडर’ भन्दै प्रशंसा
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको भावी दिशा र नेतृत्वबारे नयाँ बहस सिर्जना गरिरहेका बेला संगठनभित्र लामो समयदेखि सक्रिय नेतृ सरस्वती भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। संगठनमा निरन्तरको सक्रियता, महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त बलियो जनसमर्थन र महिला तथा युवा मुद्दामा स्पष्ट दृष्टिकोणका कारण भट्टको उम्मेदवारीलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
१४औँ महाधिवेशनमा काठमाडौं–७ बाट खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएकी भट्टले १५औँ महाधिवेशनका लागि पनि आफ्नो प्रभावशाली उपस्थिति कायम गरेकी छन्। यसपटक उनी खुला महिलातर्फ ७५ प्रतिशत मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा नेपाल महिला संघमा सक्रिय भट्टले अब पार्टीको केन्द्रीय नेतृत्वमै रहेर आफ्नो अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्य लिएकी छन्।
उनका प्राथमिक एजेन्डामा महिला सशक्तीकरण, युवा सहभागिता, लैंगिक समानता, प्रविधिमैत्री संगठन निर्माण तथा पार्टीभित्रको अस्वस्थ गुटबन्दीको अन्त्य रहेका छन्। कांग्रेसलाई समयअनुकूल, जनमुखी र आधुनिक संगठनका रूपमा अघि बढाउनुपर्ने उनको जोड छ।
भट्टका अनुसार कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई जनतासँग अझ नजिक बनाउन आवश्यक छ। नेतृत्वलाई खबरदारी गर्ने तर पार्टी हितमा आवश्यक ठाउँमा रचनात्मक सहयोग गर्ने संस्कार विकास गर्नुपर्ने उनको धारणा छ।
‘हाम्रो लिडर नै गगन थापा’
पार्टीको भावी नेतृत्वबारे आफ्नो धारणा राख्दै नेतृ भट्टले नेपाली कांग्रेसका सभापति गगन थापाको खुलेर प्रशंसा गरेकी छन्। उनले गगन थापालाई पार्टीको वर्तमान र भावी यात्राका लागि महत्वपूर्ण नेतृत्वका रूपमा प्रस्तुत गर्दै “हाम्रो लिडर नै गगन थापा हुन्” भन्ने धारणा व्यक्त गरेकी छन्।
गगन थापाको नेतृत्वमा कांग्रेसलाई पुस्तान्तरण, संगठन सुदृढीकरण र समयअनुकूल राजनीतिक रूपान्तरणतर्फ अघि बढाउन सकिने विश्वास भट्टले व्यक्त गरेकी छन्। नयाँ पुस्ताको भावना बुझ्ने, युवालाई नेतृत्वमा अवसर दिने र पार्टीलाई आधुनिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने सवालमा थापाको भूमिकालाई उनले विशेष महत्त्व दिएकी छन्।
भट्टको उम्मेदवारी केवल पद प्राप्तिको दौड नभई अनुभव र नयाँ पुस्ताको सोचलाई जोडेर कांग्रेसलाई थप बलियो बनाउने अभियानका रूपमा प्रस्तुत भएको देखिन्छ। महिला नेतृत्वको प्रभावकारी उपस्थिति, युवाको अर्थपूर्ण सहभागिता र संगठनभित्र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उनको प्रतिबद्धताले १५औँ महाधिवेशनमा उनको दाबीलाई थप चर्चामा ल्याएको छ।
अब कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको मतबाट सरस्वती भट्टले केन्द्रीय नेतृत्वमा आफ्नो स्थान कति मजबुत बनाउँछिन्, त्यसतर्फ कांग्रेसजनको ध्यान केन्द्रित भएको छ।