एनआरएनएका प्रभावशाली नेता रमेश श्रेष्ठद्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ११ हजार १ सय ११ सहयोग

theoutsidenepal.com

एनआरएनएका प्रभावशाली नेता रमेश श्रेष्ठद्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ११ हजार १ सय ११ सहयोग

द टन न्युज ॥ विशेष रिपोर्ट

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेर व्यवसायसँगै सामाजिक तथा परोपकारी क्षेत्रमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रभावशाली नेता तथा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित नेपालीका लागि महत्वपूर्ण आर्थिक सहयोग घोषणा गरेका छन्।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजकसमेत रहेका श्रेष्ठले विपद्को समयमा मातृभूमिका नागरिकको पीडामा साथ दिन विभिन्न माध्यमबाट गरी ५ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको सहयोग जुटाएका हुन्।

श्रेष्ठले भोटेकोशी बाढीपीडितका लागि ३ लाख रुपैयाँ एनआरएनए आईसीसीको खातामा जम्मा गरेका छन्। उक्त रकम भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा प्रयोग गर्ने उद्देश्य राखिएको छ।

त्यसैगरी, उनले १ लाख रुपैयाँ अन्तर्राष्ट्रिय स्याङ्जा समाजको खातामा समेत सहयोग गरेका छन्। उक्त रकम पनि भोटेकोशी बाढीपीडितको राहतका लागि नै प्रयोग गरिने बताइएको छ।

जीसीडी एनपीएलबाट पनि प्रधानमन्त्री राहत कोषमा सहयोग

श्रेष्ठको सामाजिक उत्तरदायित्वको अर्को महत्वपूर्ण पक्ष नेपाली क्रिकेटसँग जोडिएको छ।

यूएईमा नेपाली क्रिकेटको विकास, प्रवद्र्धन र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना हुन लागेको ‘जीसीडी नेपाली प्रिमियर लिग (GCD NPL) यूएई’ को पहिलो संस्करणसमेत श्रेष्ठको नेतृत्वमा आयोजना हुँदैछ।

आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू यूएईको शारजाहस्थित अल बताहको फरहान क्रिकेट मैदानमा आयोजना हुनेछन्।

प्रतियोगिताको भव्य सफलता तथा नेपाली क्रिकेटको प्रवद्र्धनका लागि GCD HR and Management Consultancy Dubai ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

उक्त रकमसमेत भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइएको छ।

यसरी श्रेष्ठको व्यक्तिगत पहल तथा जीसीडी एनपीएलसँग जोडिएको सहयोगसमेत जोड्दा भोटेकोशी बाढीपीडितको राहतका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको सहयोग जुटेको हो।

संकटमा मातृभूमिसँग जोडिने प्रतिबद्धता

व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका श्रेष्ठले विदेशमा रहे पनि नेपालको दुःख–पीडामा आफूलाई अलग राखेका छैनन्। विशेषगरी भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा उनले राहत तथा सहयोग अभियानमा सक्रियता देखाएका हुन्।

विदेशमा बस्ने नेपालीको भूमिका केवल आर्थिक गतिविधि र रोजगारीमा सीमित नभई विपद्को समयमा मातृभूमि र नेपाली समुदायसँग उभिन सक्ने सामाजिक शक्तिका रूपमा पनि स्थापित हुनुपर्ने धारणा श्रेष्ठको सहयोगले प्रस्तुत गरेको छ।

एनआरएनए नेतृत्वमा रहेर प्रवासी नेपालीको हकहित, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको जिम्मेवारीलाई सँगसँगै अघि बढाउने प्रयासका रूपमा समेत उनको पछिल्लो सहयोगलाई हेरिएको छ।

भोटेकोशी बाढीपीडितका लागि एनआरएनए आईसीसी, अन्तर्राष्ट्रिय स्याङ्जा समाज तथा प्रधानमन्त्री राहत कोषमार्फत पुग्ने यो सहयोगले विपद्मा परेका परिवारको राहतमा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया