सोलुखुम्बु अपडेट : उज्यालो नेपाल पार्टीका उम्मेदवार पेम्बा छिरी शेर्पाको घरदैलो अभियान खरिखोलाबाट सुरु

theoutsidenepal.com

सोलुखुम्बु — उज्यालो नेपाल पार्टीका उम्मेदवार पेम्बा छिरी शेर्पाले आफ्नो जन्मथलो खरिखोलाबाट चुनावी घरदैलो तथा जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सुरु गरेका छन्। स्थानीय बासिन्दासँग नजिकिएर जनभावना बुझ्ने उद्देश्यसहित सुरु गरिएको अभियानले गाउँमा चुनावी माहोल तातेको छ।


घरदैलो कार्यक्रमको औपचारिक सुरुवात उनले आफूलाई शिक्षा दिएका खरिखोला माध्यमिक विद्यालयका पूर्व हेडमास्टर पदम बा राना मगरबाट आशिर्वाद लिएर गरेका हुन्। गुरुप्रति सम्मान व्यक्त गर्दै शेर्पाले शिक्षा, विकास र जनताको भरोसामाथि आधारित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


अभियानका क्रममा शेर्पाले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव संकलन गरिरहेका छन्। गाउँका विभिन्न टोलमा पुगेका उनले सुशासन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवा सुधारलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्।


स्थानीयवासीहरूले आफ्नै गाउँबाट सुरु भएको अभियानलाई सकारात्मक रूपमा लिएका छन्। प्रत्यक्ष भेटघाटमार्फत उम्मेदवारले जनतासँग नजिकिएर विश्वास जित्ने प्रयास गरेको भन्दै कार्यक्रमप्रति उत्साहजनक सहभागिता देखिएको छ। उज्यालो नेपाल पार्टीले आगामी दिनमा सोलुखुम्बुका अन्य क्षेत्रहरूमा समेत घरदैलो अभियान विस्तार गर्ने जनाएको छ।


प्रतिक्रिया